२०८१ जेठ ३ , बिहिवार

भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त, टोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका लिबरल पिपुल्स डेमोक्रयाटिक पार्टी (पीडीपी) ले मङ्गलबारको निर्वाचनमा ४७ मध्ये ३० सिटसहितको जनमत प्राप्त गरेको निर्वाचन आयोगले बुधबार जनाएको छ ।भुटानी मतदाताले छिरिङ तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक भारी समर्थन दिएका हुन् ।

पछिल्लो समय गम्भीर आर्थिक चुनौतीहरूको प्रभावका कारण यस चुनावमा हिमालयन राज्यको विकासका कारण प्राप्त ‘समग्र राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने लामो समयदेखिको नीतिमाथि प्रश्न उठेको थियो ।भुटान विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । उनीहरूले रणनीतिक रूपमा विवादित सीमा क्षेत्रमा मतदानलाई निकै चासोका साथ हेरेका थिए ।

भुटानको प्रमुख व्यापारिक साझेदार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानका पूर्वप्रधानमन्त्री तोब्गेलाई निर्वाचनमा प्राप्त भारी समर्थनपछि भन्नुभएको छ, “मेरा मित्र तोब्गेलाई हार्दिक बधाई छ !”जवाफमा टोब्गेले मोदीलाई सामाजिक सञ्जालबाट नै ‘हार्दिक आभार’ प्रकट गर्नुभएको छ ।

टोब्गेले बुधबार एक्समा एक सन्देशमा लेख्नुभएको छ, “म पनि हाम्रा राष्ट्रहरूबीच रहेको मित्रता र सहयोगको अद्वितीय बन्धनलाई बलियो बनाउन तपाईंसँग फेरि नजिकबाट काम गर्न उत्सुक छु ।”पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गर्नुभएका र हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएका ५८ वर्षीय तोब्गे पूर्व सरकारी कर्मचारी हुनुहुन्छ ।

वर्तमान् राजाको शासनकाल सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसद्मा टोब्गे विपक्षी दलका नेता पनि हुनुहुन्थ्यो ।  रासस/एएफपी