२०८१ जेठ २ , बुधवार

बङगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैनः अमेरिका

Capture

सुनाखरी न्युज / काठमाडौं ।
संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बङ्गलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःख समेत व्यक्त गरेको छ ।बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षीदलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गर्नु भएको छ ।

संयुक्त राज्य अमेरिकाले पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको छ ।विज्ञप्तिमार्फत अमेरिकाले बङ्गलादेशका जनताका लागि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भने पूर्ण समर्थन रहेको बताएको छ ।हाल जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टीको बहिष्कार बीच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौं कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको हो ।

अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ । अमेरिकाले बङ्गलादेशी सरकारलाई हिंसाको छानविनका लागि आग्रह गरेको छ ।यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बङ्गलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाई , बङ्गलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ ।

डेली स्टारका अनुसार, शेख हसिनाको पार्टीले १२ औं संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ । जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनः स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाईएको छ ।प्रमुख विपक्षी बीएनपी र अन्य १५ दलको बहिष्कार बीच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
विजयपछि, हसिनाले बङ्गलादेशका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, बारम्बार मतदान गर्ने नागरिकहरू प्रति आफ्नो जिम्मेवारी बोध भएको बताउनु भएको छ ।   रासस/एएनआई