२०८१ जेठ ५ , शनिवार

संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित

sunakhari2502

सुनाखरी न्युज / काठमाडौं ।
पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमसँगै मेला, महोत्सवहमा थारु जातिको मौलिक संस्कृतिको रुपमा रहेका नृत्यतर्फ नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

शान्तिनगर गाउँपालिका–५ की सुरक्षा चौधरी पछिल्लो समय संस्कृति संरक्षणमा जुट्नुभएको छ । आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारु वेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उहाँ बताउनुहुन्छ । चौधरीले थारुको पहिचानका रुपमा रहेका बड्का नाँच, छोक्रा नाँच र सख्या नाच नाच्न सिक्नुभएको छ ।

“सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । सार्वजनिक कार्यक्रममा सहभागी हुन र नाच्न मन लाग्दैन थियो,” उहाँले भन्नुभयो, “तर अहिले सहज हुँदै गएको छ । आफ्नो जातिगत वेषभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” नृत्यसँगै चौधरीलाई थारु जातिका महिलाले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायत पहिरनमा सजिन मन लाग्ने गरेको छ । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको चौधरीले बताउनुभयो ।

विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभासम्मेलनमा थारु जातिसँग सम्बन्धित नाचको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१० की अनिता चौधरीे बताउनुहुन्छ । अनिता पछिल्लो समय फुर्सदको समयमा थारु नृत्य सिक्नेदेखि कार्यक्रममा सहभागी हुने गर्नुहुन्छ ।“आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेकी छु”, उहाँले भन्नुभयो, “कला सस्कृतिका बारेमा ज्ञान पाइनुका साथै आम्दानीसमेत हुने गरेको छ ।”

पछिल्लो समय थारु समुदायका युवायुवती आफ्नो वेषभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रममा आफ्नो वेषभूषा र परिहनमा सजिएर नाचगान गर्ने तथा पाहुनाको स्वागतमा उनीहरु खटिने गर्छन् । यो क्रम बढ्दै गएको छ । घोराही–११ वनघुस्राका रामप्रसाद चौधरी आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारु संस्कृतिको विकास गर्न युवा पुस्ता अग्रसर भएको बताउनुहुन्छ ।“थारु समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, भ्रmमालगायतका नाचमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारु संस्कृति संरक्षणमा सघाउ पुगेको छ ।”

थारु जातिमा सखिया गीत गाउने र माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गिविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । थारु कला संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्नेबारे प्रशिक्षणको व्यवस्था हुनुपर्ने चौधरी बताउनुहुन्छ । थारु समुदायको विभिन्न बाजा संरक्षणका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ । रासस