२०८३ जेठ १४ , बिहिवार

सात वर्षदेखि अलपत्र पुल निर्माण सक्न निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
काभ्रेपलाञ्चोक र बागमती प्रदेशको राजधानी जिल्ला मकवानपुर जोड्ने पुल निर्माण सुरु भएको सात वर्ष भइसक्यो । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ जोड्ने सिक्रेदोभानस्थित बागमती नदीमा निर्माण सुरु गरिएको पुल निर्माण अलपत्र परेपछि उक्त स्थानबाट आवतजावत गर्ने दुई जिल्लाका नागरिकले निकै सास्ती बेहोर्दै आएका हुन् ।

दुई वर्षमा निर्माण गर्न सम्झौता गरिए पनि सात वर्षसम्म पुल निर्माण अलपत्र अवस्थामा छ । पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारले बारम्बार ताकेता गरिरहेका छन् । निर्माण कम्पनी महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षभित्र निर्माण सक्न निर्देशन दिएको छ । जेभीसँग रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

मन्त्री युवराज दुलालले पछिल्लोपटक पुल निर्माणस्थलको अनुगमन गरेपछि निर्माण कम्पनीलाई चालु आवभित्र सक्न निर्देशन दिनुभएको हो । “निर्माण कम्पनीका प्रतिनिधिलाई चालु आवमै पुल निर्माण सक्न निर्देशन दिएका छौँ, उनीहरुले प्रतिबद्धता पनि जनाएका छन्”, मन्त्री दुलालले भन्नुभयो ।मन्त्री दुलालका अनुसार प्रदेश सरकारले पुराना ठेक्का भएका पुल, सडकलगायतका आयोजना चालु आवभित्र निर्माण सम्पन्न गर्ने वा ठेक्का तोड्ने विषय चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको थियो ।

तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३÷०७४ मा बोलपत्र आह्वान गरी बाग्मती नदिमा पुल निर्माण अघि सुरु गराएको थियो । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त पुल निर्माण नहुँदा काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती बेहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो ।

“पुल नबन्दा दुई गाउँपालिकाका नागरिकले निकै सास्ती खेप्नुपरेको छ, निर्माण भएपछि प्रदेश राजधानी हुटौँडा पुगेर काम सम्पन्न गरी साँझ घर आइपुग्ने अवस्था रहन्छ”, उहाँले भन्नुभयो ।निर्माण सुरु भएदेखि हालसम्म मकवानपुरतर्फ पिल्लर उठाउने, नदीकाबीचमा ‘पाइलिङ’को काम र काभ्रेपलाञ्चोकतर्फ बस्ने पिल्लरको पाइलिङको काम सुरु गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि खड्ग गोपालीले हालसम्म ३० प्रतिशत पुल निर्माण सकिएको दाबी गर्नुभएको छ । उहाँका अनुसार आउँदो फागुन मसान्तसम्म पिल्लर उठाउने काम सकेर मकवानपुरतर्फको एउटा ल्याव ढलान गरिने छ ।

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित डाँडापारी (महाभारत पर्वत श्रङ्खला पारी)मा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिक किनमेलका लागि काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेललगायत बनेपा, पनौती आउनभन्दा मकवानपुरको हेटौँडा नजिक पर्दछ । यसकारण पनि यहाँका दुई गाउँपालिकाको नागरिक पुल निर्माण छिटो होस् भन्ने चाहन्छन् । “दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँको पुल बन्दा हामीलाई सजिलो हुन्छ”, तालढुङ्गाका रामप्रसाद तिमल्सिनाले भन्नुभयो ।

निर्माण व्यवसायी गोपालीले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि सडक बनाउन केही ढिलाइ भएको बताउनुहुन्छ । उहाँका अनुसार पुल निर्माण हुने स्थानसम्मका लागि साढे पाँच किलोमिटर पहुँच सडक खन्ने क्रममा पुल निर्माण गर्ने दुई वर्षको समय सकिएको थियो । यस्तै तत्कालीन जिविस खारेज भएपछि १० महिना अन्योलता रहेका कारण पनि पुल निर्माण समयमा नै सुरु गर्न नसकिएको अर्का व्ययसायी विजय थापाको भनाइ छ । रासस