२०८१ जेठ २ , बुधवार

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा विशेष गरी प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनका लागि आज बस्ने नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक फलदायी हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार रुपक सापकोटाले जानकारी दिनुभयो ।

गत जुनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका विद्युत् व्यापार, कनेक्टिभिटीलगायतका विषयमा छलफल भइ प्रधानमन्त्री दाहालले ती सम्झौतालाई चाँडो कार्यान्वयनमा ल्याउने गरी आजको दुई देशबीचको संयुक्त आयोगको बैठकमा आवश्यक छलफल गरी अगाडि बढ्न भारतीय विदेशमन्त्रीलाई आग्रह गर्नुभएको थियो । उहाँले भारतसँग भएको विद्युत् व्यापारसम्बन्धी सम्झौता नेपाल र भारत दुवै देशका लागि तथा नेपालले बंगलादेशसम्म विद्युत् व्यापार गर्न सक्नेसम्मका लागि पनि कोशेढुङ्गा सावित हुने भन्दै यस सम्झौतालाई आपसी समझदारीअनुसार सहजरुपमा अघि बढाउन जोड दिनुभएको सल्लाहकार सापकोटाले जानकारी दिनुभयो

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसक्नुभएको छ । रासस