२०८१ बैशाख १६ , आइतवार

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, कसले गर्यो स्वागत ?

Jaya sankar

सुनाखरी न्युज/ काठमाडौं ।

भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन  आइपुगेका  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

 

भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।

दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने छन् ।

 

शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किने छन् ।

 

कोभिड महामारीका कारण विगत दुई वर्ष परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।