२०८१ बैशाख २३ , आइतवार

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो, सतर्कता अपनाउनूः स्वास्थ्य मन्त्रालय

Ministry-of-Health

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले स्वास्थ्य मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

 

कोभिड–१९ को संक्रमणका केसहरु सीमा नाकामा छिटपुट देखिरहेका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन।१ जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने । यद्यपि उनले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको बताए ।

कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रिनिङ र निगरानी भइरहेको बताउँदै कोभिड—१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।