२०८१ जेठ २ , बुधवार

सेयर बजार र घरजग्गा कारोबारले लय लिन थालेको छः अर्थमन्त्री डा. महत

Prakash S Mahat

सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले लय लिएको बताएका छन् ।

“सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ,” उनले भने, “बैंकहरूले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।”

मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले अर्थतन्त्रलाई चलायमान देखाउने सेयर बजार कारोबार र घरजग्गा कारोबार बढ्दै गएको उनले बताए ।

 

पूर्वाधारमा ठूलै समस्या रहेको भन्दै मन्त्री महतले पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्रले उपयोग गर्न नसकेको बताए । महतले सेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भएको पनि उल्लेख गरे । यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ ।

महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैँ खुला रहेको बताए । विदेशबाट फर्केर आएका युवाहरूले पुँजी र सीप लिएर आएका भन्दै उनीहरूलाई आधुनिक कृषिकर्ममा आकर्षित गर्नुपर्ने बताए । यस्ता कार्यलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको उनले बताए ।

 

“हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक संकेतहरू देखिने र आर्थिक वृद्धि हुनेछ,” उनले भने, “अहिले जति पनि तथ्यांकहरू छन्, यी तथ्यांकले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ । हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत घोषणा गरेका थियौं, अहिले ५.३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ ।”

आउँदो बजेटमा सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री महतको भनाइ छ । उनले खुला सीमा भएकाले अझ धेरै समस्या बएको बताए । चुहावट कम गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।