२०८१ जेठ २ , बुधवार

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

Japan Earth Quake

सुनाखरी न्युज/ काठमाडौं ।
जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्र नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको जापानी समाचार संस्था क्योदोले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन् । भूकम्पबाट मानवीय क्षति पनि भएको जनाइएको छ ।

 

क्योदोका अनुसार मध्य टोकियोमा समेत घरहरू हल्लिएका थिए । जापानको मौसम विभागका अनुसार वाजिमा बन्दरगाहमा १।२ मिटरसम्म सुनामी आएको छ । बीबीसीका अनुसार नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प आएको पहिलो पटक हो ।

 

 

अधिकारीहरूले यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । त्यस्तै भूकम्पका कारण केही ठाउँमा आगलागीसमेत भएको छ भने केही क्षेत्रमा बिजुलीको लाइनसमेत अवरुद्ध भएको छ ।

इसिकावा प्रिफेक्चरमा ३२ हजार भन्दा बढी घरमा यतिबेला बिजुली छैन । प्रधानमन्त्री फुमियो किसिदाले सुनामी आउन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । जापानमा ‘सिन्दो ७’को भूकम्प पछिल्लो पटक सन् २०१८ मा होक्काइदोमा गएको थियो ।