२०८१ जेठ २ , बुधवार

सुनचाँदी ब्यवसायी महासंघद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भुकम्पपिडितको सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण

PM4

सुनाखरी न्युज/काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले जाजरकोट र रुकुमका भूकम्प प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधीमण्डलले शोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहयोगको चेक हस्तान्तरण गरेको हो ।
महासंघका अध्यक्ष शाक्यले त्यस अवसरमा महासंघको तर्फवाट पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको अध्यक्ष शाक्यले बताउनुभयो ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले महासंघले भूकम्प पिडितको सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद ब्यक्त गर्नुहँदै अप्ठ्यारोमा सहयोग गर्नु सवैको कर्तब्य भएको उल्लेख गर्नुभयो । उहाँले सुनचाँदी ब्यवसायीका तर्फवाट सुनचाँदी कारोबारलाई ब्यवस्थित गर्न ऐनको आवश्यकता औंल्याइएकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै यस सम्वन्धी प्रष्ट ऐन निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।
प्रधामन्त्री दाहालसँगको भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यले सुनुचाँदी ब्यवसायमा देखिएका विभिन्न समस्याहरुको जानकारी गराउनु हुँदै ती समस्या निराकरणका लागि सुनचाँदी कारोबार सम्वन्धी ऐनको आवश्यकता औंल्याउनु भएको थियो ।
भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्यका साथै प्रतिनिधीसभा सदस्य एवं महासंघका सल्लाहकार रणेन्द्र वराइली, महासंघका उपाध्यक्ष विपिन रामुदामु, पवन कुमार सोमानी, महेन्द्ररत्न शाक्य र कार्यवाहक महासचिव किरणभाई बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।