२०८१ बैशाख १७ , सोमवार

राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र–२०७९ मा संशोधन, के के छन् नयाँ व्यवस्था

nrb

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र २०७९ मा विभिन्न संशोधन परिमार्जन थप गरिएको हुँदा सोही बमोजिम कार्य गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले संशोधन गर्दै जापान, दक्षिण कोरिया, युरोप महादेश संयुक्त राज्य अमेरिका, क्यानाडा लगायतका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई अधितकम ५ सय डलरको राहदानी सुविधा दिने व्यवस्था गरेको छ । यसका साथै अन्य मुलुक जानेको हकमा भने अधिकतम २ सय डलरको राहदानी पावत सटही सुविधा दिने व्यवस्था गरेको छ ।

 

यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २ सय डलरसम्म मात्र सटही सुविधा पाउने व्यवस्था थियो ।

निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजारको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने व्यवस्था गरेको छ । निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात अमेरिकी डलर ६० हजार र भारतको हकमा भारु। तीन करोडको सीमाभित्र रहने भएमा सात दिन व्यतीत हुन अनिवार्य नहुने जनाएको छ ।