२०८१ जेठ २ , बुधवार

पटेरले महिलाको जीवनमा ल्याएको परिवर्तन

Capture

सुनाखरी न्युज / काठमाडौं ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो । श्रीमान्को पनि रोजगारी नभएकाले सामान्य खेतीपातीले घर धान्न कल्पनालाई मुस्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको घरमा मजदुरी गर्नुपथ्र्यो तर अहिले घरखर्च चलाउनमात्र होइन, दुई छोरीलाई पढाउनसमेत चिन्ता छैन ।

उहाँले दुई छोरीलाई फार्मेसी र ल्याब पढाउँदै आउनुभएको छ । ठूली छोरी फार्मेसी र कान्छीले छोरी ल्याब पढ्दै छिन् । अहिले कल्पनाले घर खर्च र छोरीलाई पढाउनेदेखि छिमेकीलाई परेको बेला सरसापट पनि दिने गर्नुहुन्छ ।उहाँको जीवनमा एक्कासि यो परिवर्तन भने आएको होइन । गाउँमा त्यसै खेर गएको पटेर (गुन्द्री, चकटीलगायत हस्तसामग्री बनाउन प्रयोग हुने एक प्रकारको घाँस (यो घाँस पानी जमेको ओसिलो ठाउँमा उम्रने गर्छ)ले उहाँको जीवनमा परिवर्तन ल्याएको हो । “बाह्र वर्षअघि छिमेकी गाउँकी दिदी पोखरा जानुभएको थियो, त्यहाँ उहाँले एक मेलामा पटेरबाट बनेका हस्तसामग्री देख्नुभएको रहेछ । मेलामा त्यसबारे सोधीखोजी गरेपछि यहाँ आएर उहाँले पटेरबाट बन्ने सामग्रीको तालिम दिन थालेपछि धेरै महिला अहिले आत्मनिर्भर बनेका हुन्”, कल्पना भन्नुुहन्छ ।

पटेरबाट हस्तसामग्री बनाउन इच्छुक भएपछि घरेलु कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले महिलालाई तालिम दिन थालेको थियो । त्यही तालिमबाट अहिले धेरै महिलाले सीप सिकेर जीविकोपार्जनको माध्यम बनाएको कल्पनाको भनाइ छ । पटेरबाट सुकुल, पिर्का, मुढा, गुन्द्री, म्याट, कलमदानी, टोपी, चकटीलगायत सामान बनाउने गरिएको छ । तिनै सामान बेचेर छोरीलाई मेडिकल पढाइ गराउन सकेको उहाँ बताउनुहुन्छ ।

कल्पनामात्र होइन उहाँकै छिमेकी किशुनकुमारी चौधरीको पनि पटेरले आर्थिक जीवन नै परिवर्तन गरिदिएको छ । पटेरकै सामग्री बेचेर उहाँले करिब तीन कठ्ठा जग्गा किन्नुभएको छ । वार्षिकरूपमा एक जनाले करिब रु १० लाखबराबरको पटेरका सामान बेच्ने गरेको किशुनकुमारीको भनाइ छ । खर्च कटाएर मासिक रु ४० देखि ५० हजार बचत हुने गरेको किशुनकुमारी बताउनुहुन्छ। उत्पादन भएको सामान बेच्न उहाँहरूलाई समस्या छैन । सजिलैसँग सामान बिक्री हुने गरेको छ । कहिलेकाहीँ त सामान पुर्याउनै मुस्किल हुने उहाँहरूको भनाइ छ । उक्त सामान ठूला–ठूला होटलमा जाने गरेका छन् । होटलबाट म्याट, टोपी, सुकुललगायत सामानको माग बढी छ । “बजारको समस्या नै छैन । माग बढी भएकाले कहिलेकाहीँ त पुर¥याउँनै सकिन्न”, कल्पना भन्नुहुन्छ ।

होटलबाहेक पनि अन्य पसलबाट माग आउने गरेको छ । सबैभन्दा बढी ठूला मुडा, सुकुल, चकटीको माग हुने गरेको छ । माग भएका सामान भने स्थानीय बजार क्षेत्रबाट चल्ने सार्वजनिक बसमा पठाउने गरेको उहाँ बताउनुहुन्छ । “उधारो खासै हुँदैन सबैजसो नगदै हुन्छ । कसैले त अग्रिम पैसा पठाउनुहुन्छ”, किशुनकुमारी भन्नुहुन्छ । आफूहरूले उत्पादन गरेको सामान विदेशीले पनि मन पराएको सुनेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “होटलबाट फोन आउँदा विदेशीले पनि मन पराएका छन् भन्छन् । सरकारले पटेर उद्योग सञ्चालनका लागि सहयोग गरेर विदेश पठाउने वातावरण मिलाए धेरै महिलाका लागि यो पेसा रोजगारीको माध्यम बन्ने थियो ।”

सुरुमा समूह बनाएर काम गर्दै आइएकामा अहिले कल्पना र किशुनकुमारीले छुट्टाछुट्टै निजी फार्म दर्ता गरेर व्यवसाय नै सञ्चालन गर्नुभएको छ । सुरुमा पाँच हजार ट्र्याक्टरको दरले तीन ट्र्याक्टर पटेरको बीउ (गाभा) किनेर खेतमा रोपेको उहाँहरूको भनाइ छ । एकपटक गाभा गाडेपछि धेरै समय उम्रिने र बीउसमेत हुने गरेपछि अहिले समस्या हुने गरेको छैन । पहिला सामान्य खेतमा पटेर लगाउनुभएका उहाँहरूले अहिले छ बिघा घोल खेत (पानी जम्ने खेत) भाडामा लिएर पटेरखेती गर्दै आउनुभएको छ । यसले गर्दा कच्चा पदार्थको समस्या छैन ।दुवैजना अहिले पटेरसम्बन्धी हुने तालिमका लागि प्रशिक्षकसमेत बन्नुभएको छ । स्थानीय तह र अन्य कार्यालयले आयोजना गर्ने तालिममा आफूहरूलाई प्रशिक्षकका रूपमा बोलाउने गरेको कल्पना र किशुनकुमारीको भनाइ छ । सुस्ता र प्रतापपुर गाउँपालिकाको क्षेत्र पटेर खेतीका लागि उत्तम छ । पटेरका सामग्रीको माग बढेपछि अहिले ती दुई गाउँपालिकाका करिब दुई सय बढी महिलाले यसलाई आम्दानीको स्रोत बनाएका छन् ।

आफूले उत्पादन गरेका मात्र होइन अन्य महिलाले बनाएका सामान पनि दुवै जनाले खरिद गरेर बाहिर पठाउने गरेका छन् । आफूहरूले उत्पादन गरेको सामग्री चितवन, पोखरा, बुटवल र काठमाडौँमा जाने गरेको उहाँहरू बताउनुहुन्छ ।
“घरमा सहजै बसेर बनाउन सकिने भएकाले यसप्रति महिलाको आकर्षण बढेको हो । गाउँका महिलाले उत्पादन गरेका सामान पनि हामी आफैँंले खरिद गरिदिन्छौँ । बजारमा बिक्री हुन नसके महिलाले हामीलाई ल्याएर दिनुहुन्छ”, किशुनकुमारी भन्नुहुन्छ । आफूहरू पूरै दिन यो पेसामा लागे पनि गाउँका महिलाले भने फुर्सदमा मात्र सामान बनाउने गरेका छन्। “धेरै महिला घरायसी काम र अन्य काममा लाग्ने भएकाले पूरा समय दिनुहुन्न फुर्सद निकालेर काम गर्नुहुन्छ, त्यति गर्दा पनि एक महिलाले मासिक रु १२ देखि रु १५ हजारसम्म कमाउने गरेका छन्”, कल्पना भन्नुहुन्छ ।

पटेरखेतीलाई प्रोत्साहन गर्न सुस्ता र प्रतापपुर गाउँपालिकाले लघुउद्यम शाखामार्फत तालिम सञ्चालन गर्दै आएका छन् । “पटेरलाई उद्यमकै रूपमा अगाडि बढाउन पालिकाले बजेट छुट्याएर तालिम र अन्य आवश्यक सहयोग गर्दै आएको छ”, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भन्नुहुन्छ । अनिल यादव/रासस