२०८१ जेठ १ , मंगलबार

प्राधिकरणले धमाधम एकपछि अर्को उद्योगको विद्युत लाइन काट्दै 

nepal electricity

सुनाखरी न्युज / काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युतप्राधिकरणलाई निर्देशन दिएका थिए। उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काट्न थालेको हो।  उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह गरेका हन् ।

 

नेपाल विद्युत् प्राधिकरणले आइतबार थप पाँच उद्योगको बिजुली काटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीबार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बिजुली काटेर भए पनि बक्यौता उठाउन निर्देशन दिएलगत्तै शुक्रबार प्राधिकरणले सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।  प्राधिकरणका अनुसार आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको लाइन काटिएको हो । ५० करोड रुपैयाँभन्दा बढी बक्यौता भएका यी उद्योगको लाइन काटिएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले पुष्टि गरे ।

 

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो। प्राधिकरणले यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो।

 

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ। यस्तै, रिलायन्सले रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ। प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ। बारा पर्सा करिडोरका जगदम्बा स्टीलसहित त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, अशोक स्टिल, सूर्य नेपाललगायत उद्योगहरुमा विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको छ ।उद्योगीहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् ।