
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उहाँले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताउनुभयो ।
राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताउनुभयो । अहिलेको सङ्कटलाई सामना गर्ने वैचारिक सामथ्र्य आफ्नो पार्टीसँग रहेको उहाँको भनाइ थियो ।अध्यक्ष नेपालले भन्नुभयो, “वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।”
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याउनुभयो । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उहाँको भनाइ थियो ।भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, “सहि राजनीतिक कार्यदिशाको खाँचो छ ।” उहाँले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मकरुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चत्तम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताउनुभयो । उहाँले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी सङ्गठनात्मक रुपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव सङ्कलन गरी मस्यौदामा छलफल गरिनेछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिने छ । रासस