
सुनाखरी न्युज/ काठमाडौं।
जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो ।
उक्त कार्यालयका क्षय कुष्ठ स्रोतव्यक्ति रवीन्द्र साहले रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले अभियान सञ्चालन गर्नका लागि बजेट नभएकाले बिरामी खोजपडताललगायत गतिविधि अगाडि बढाउन नसकिएको उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय मात्रै नभएर स्थानीय तहमा समेत कुष्ठरोग निवारणका लागि बजेट छैन ।
जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले विगतको तुलनमा रोगीको सङ्ख्या कम भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गर्नुभयो ।नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोगको निवारण चुनौतीपूर्ण रहेको बताउनुभयो । समाजमा अहिले पनि रोगीहरु लुकेर बसेको हुनसक्ने भएकाले खोजीका लागि शिविर सञ्चालनको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लामा कुष्ठरोग निवारणका लागि आवश्यक बजेट विनियोजन गर्न आफूले स्थानीय तहसँग पहल र सरोकारवाला निकायबीच थप सल्लाह गरिने बताउनुभयो ।
जिल्लामा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले कुष्ठरोगीको खोजपडताल र उपचार गर्दै आएको छ । गत आर्थिक वर्षमा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ बर्दिया जिल्लाका रहेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् ।
आफूकहाँ आएका बिरामीका साथै ठाउँठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्दै आइएको अस्पतालका प्रमुख थारूले बताउनुभयो । उक्त अस्पतालमा अघिल्लो आर्थिक वर्ष ०७८÷७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको थियो । रासस