२०८१ जेठ ३ , बिहिवार

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

Capture

सुनाखरी न्युज/ पोखरा ।

सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु
नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ति जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो ।” सरकारले खेल पूर्वाधारहरुको निर्माणका लागि संघिय, स्थानिय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउने गरि आफूले समन्वय गरिरहेको बताए ।

संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने जनाउँदै मन्त्री लिम्वुले संघिय, प्रदेश र स्थानिय सरकारले कुन र कस्ता पूर्वाधारहरु कुन–कुन हुन सक्छन् , कुन तहले कुन खेल मैदानको जिम्मेवारी लिने त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषदलाई अध्ययनका लागि निर्देशन दिएको उनले बताए । उनले भने–“सबैले जिम्मेवारीपूर्वक जवाफदेही ढङ्गबाट सुझाव दिन र प्रयाप्त मात्रामा खेल प्रशिक्षणस्थलहरुको निर्माण गरी तिनै तहको सरकारका विच समन्वय गर्ने गरि मन्त्रालय योजनावद्ध रुपमा अघि बढेको छ ।”

खेलाडीले भोगेका कठिनाईहरुलाई कम गर्दै लैजाने विषयमा समेत मन्त्रालयले गृहकार्य गरिरहेको जनाउँदै मन्त्री लिम्वुले भने–“अव जति खेलाडीहरुले समस्या भोग्नु भएको छ यहाँहरुले पाउनु पर्ने सेवा सुविधाका बारेमा नितिगत सुधार गर्दै सहजरुपमा सेवा सुविधा र पुरस्कारका रकम प्राप्त गर्न वातावरण बनिसेकेको छ । अव यहाँहरु उच्च मनोबलका साथ खेल्न आग्रह गर्छु ।” खेलाडीहरुले खेलको माध्यमबाट संसारलाई जित्न सक्छौं भन्ने सन्देश दिइसकेको जनाउँदै त्यसका लागि खेलाडीहरुलाई प्रयाप्त सुविधा र अवसरहरुको खोजीका लागि मन्त्रालय प्रयत्नशिल रहेको उनको भनाई थियो ।

पोखरा पर्यटन क्षेत्र पनि भएकोले पनि अन्तर्राष्ट्रिय संगको सम्वन्ध बलियो रहेको जनाउँदै निजी क्षेत्रले खेलकुद क्षेत्रमा गरेको स¥हानिय रहेको बताए । उनले भने–“सरकार एक्लैले मात्र लगानी गर्न सक्दैन यसमा निजी क्षेत्रको सहभागिता उत्तिकै महत्वपूर्ण छ ।” जनस्तरबाट भएको लागनी भएको क्षेत्रमा समेत सरकारको समेत सहयोग आवश्यक रहेको जनाउँदै कास्की टेनिस विकासका लागि समेत सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–“हामी सबै मिल्यौं भने सबै कुरा सहजताका साथ समाधान हुन्छन”, उनले भने–“म यहि कुरा यहाँहरु समक्ष राख्दै समग्र खेलकुद विकासका लागि जुट्न म आग्रह गर्न चाहन्छु ।”

उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले कास्की टेनिसको सुनौलो इतिहासको जति प्रशंसा गरे पनि कम नहुने बताए । उनले कास्की टेनिसलाई सरकारले समेत उच्च प्राथमिकतामा राखी सम्मान गर्नु पर्ने जनाउँदै कास्की टेनिस नेपालको प्रमुख केन्द्रको रुपमा स्थापित रहेको जनाए । इतिहास बोकेको कास्की टेनिसले कार्यक्रम गर्दा होस वा पूर्वाधारको संरक्षणका लागि हात फैलाएर माग्ने अवस्थाबाट मुक्त गर्न सरकारको समेत सहकार्य आवश्यक रहने कुरामा उनले जोड दिए ।

कास्की टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक नविन चालिसेले कास्की टेनिसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र टेनिस खेलको विकासमा उत्तिकै महत्वपूर्ण योगदान भइरहँदा समेत राज्यको ध्यान यस तर्फ नपुग्दा समस्या आएको उल्लेख गरे । उनले भने–“निजी क्षेत्रले कास्की टेनिसमा उल्लेख्य लगानी गरेको छ । त्यो राज्यका तर्फबाट हुन सकेको छैन । यसमा सहकार्यका लागि म आग्रह गर्दछु ।”

सो अबसरमा गोरखा नेप्लिज टेनिस क्लब युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, कास्की टेनिसका सचिव नविन श्रेष्ठले समेत आफ्ना भनाई राखेका थिए ।यहि पौष १० गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहने उपाध्यक्ष चालिसेले जानकारी दिए । उनले भने–“यो माछापुच्छ्रे टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।”प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

“२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” सम्पन्न गर्न करिव १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले जानकारी दिएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा मात्रै करिव नगद रु ८ लाख खर्च हुने उनको भनाई छ । उनले यो प्रतियोगिताबाट करिव २ लाख बचत हुने जानकारी दिए ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका र्‍याकिङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं १ पुरुष तर्फ पोखराका प्रदिप खड्का र नं १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता जनाउने उनले जनाए । प्रतियोगितामा पहिलो चरणका खेलहरु सुरु भएका छन् ।  रासस