२०८१ जेठ ३ , बिहिवार

प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती

सुनाखरी न्युज/ काठमाडौं।
राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई जितको लागि एक सय ३४ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३३ रनको योेगफल बनायो । लुम्बिनीका लागि सरस्वती गङ्गा मगरले सर्वाधिक ५३ रनको योगदान दिइन् । उनले ६२ बल खेल्दै सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएकी हुन ।

त्यस्तै अस्मा पुलामी मगरले २५ रन जोडिन् । उनले २५ बल खेल्दै तीन चौकाको मद्दतमा २५ रन जोडेकी हुन् । त्यसैगरी चमेली चौधरीले २२ बलमा दुई चौकाको सहायताले १८ रन बनाइन् । लक्ष्मी चौधरीले चार रन बनाइन् भने सरस्वती पुन र सुस्मिता बजगाइँले समान तीन÷तीन रन बनाए ।

बलिङतर्फ कर्णालीका यमुना थारु, रस्मी खड्का र त्रिसना विश्वकर्माले समान एक÷एक विकेट लिए । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस