२०८१ जेठ ३ , बिहिवार

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा प्रथम

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
जुम्लाको तातोपानी गाउँपालिका–६ ले आयोजना गरेको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा २० स्वर्ण पदकसहित हिमा गाउँपालिका प्रथम भएको छ । प्रतियोगितामा जिल्लाका पातारासी र गुठिचौरबाहेक छ पालिकाको सहभागिता थियो ।

उक्त प्रतियोगितामा हिमाले विभिन्न विधाका खेलतर्फ २० स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाले करातेतर्फ १२, एक हजार पाँच सय मिटर दौडमा छात्राछात्रतर्फ दुई÷दुई, तीन हजार मिटर दौड छात्रतर्फ एक, हाईजम, लमजम र त्रिपलम्जमतर्फ १÷१ सहित बीस स्वर्णपदक जितेको गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमख दन्तराज रावतले जानकारी दिनुभयो ।

चन्दननाथ नगरपालिकाले १२ स्वर्ण पदकसहित दोस्रो भएको आयोजकले जनाएको छ । तेकान्दो र उस्सुतर्फको खेलमा आयोजकले नम्बर नदिने निर्णय गरेपछि नगरपालिकाले अन्य विधाका पुरस्कारसमेत लिएको छैन ।सिञ्जाले लमजम छात्रातर्फ एक, दुई सय मिटर दौड छात्रातर्फ एक गरी दुई स्वर्णपदक जितेको गाउँपालिका खेल प्रशिक्षक शक्तिसिंह खत्रीले बताउनुभयो । सिञ्जाले दुई सय दुई मिटर दौड छात्रतर्फ एक, एक सय मिटर दौड छात्रातर्फ एक, त्रिपलजम छात्रातर्फ एक गरी तीन रजत र दुई कास्यसहित तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्रा भलिबलको विजेता बनेको कनकासुन्दरी गाउँपालिका प्रतियोगिताको चौथो र छात्रतर्फको भलिबल विजेता बनेको तिला गाउँपालिकाले पाँचौ स्थान हासिल गरेको छ । आयोजक पालिका गाउँपालिकाले कुनै पनि खेलमा प्रथम स्थान हासिल गर्न सकेन ।प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय हुने पालिकालाई सिल्ड, प्रमाणपत्र, मेडलसहित पुरस्कार वितरण गरिएको छ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शान्त र मर्यादित रुपमा सम्पन्न गर्न तातोपानी गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताउनुभयो ।

वडाध्यक्ष विशाल खड्काले प्रतियोगिता सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबै सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो । आगामी वर्ष १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हिमा गाउँपालिकाले आयोजना गर्नेछ ।  रासस