२०८१ बैशाख १६ , आइतवार

पुस्तकरहित शुक्रबार कार्यक्रमका लागि सूचीकृत हुन आग्रह

Capture

सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक/प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घ संस्थालाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । इच्छुक सङ्घ संस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन कामपा शिक्षा विभागले आग्रह गरेको हो ।

कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यले विद्यालयमा तालिम प्रदायक सङ्घ संस्थालाई सूचीकृत हुन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कामपाले आफ्नो क्षेत्रमा सञ्चालितमध्ये ८१ सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । “यसअन्तर्गत हरेक शुक्रबार किताबमा भएका भन्दा फरक र व्यवहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।

चालु आवमा शिक्षाका लागि रू एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमका लागि पनि छुट्टै बजेटको व्यवस्था गरेको कोइरालाले बताउनुभयो । उहाँका अनुसार कामपाको माग अनुसार सूचीकृत हुने सङ्घसंस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाका कक्षा हुनेछन् ।

कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कामपाले बाल समूह गठन गरिसकेको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिका भएका र रात्रिकालीन विद्यालय बाहेक ८१ विद्यालयमा समूह गठन गरिसकिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् ।हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण र विज्ञान, प्रविधि, इञ्जिनियरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह बनाइएको प्रमुख कोइरालाले बताउनुभयो ।

उपमूहहरुमा बालबालिका तथा वातावरण, विज्ञान, प्रविधि, इञ्जिनियरिङ, आर्टस र गणित, भित्ते चित्र, संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, नाट्य समूह, व्यक्तित्व विकास, उद्यमशीलता सोच, पठन संस्कार, योग, सङ्गीत तथा नृत्य, ड्रोन, र एनिमेसन रहेका छन् ।विद्यार्थीको सङ्ख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय छनोट गरिएको कामपा शिक्षा विभागले जनाएको छ ।  रासस