२०८३ बैशाख ३१ , बिहिवार

एक महिनाभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याइने

melachi

सुनाखरी न्युज / काठमाडौं ।

एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तद्वारा जारी विज्ञप्तिमा आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दरले काठमाडौं उपत्यकामा वितरण गरिने जनाइएको छ ।बाढी–पहिरोका कारण आयोजनामा क्षति पुगेको भन्दै पछिल्लो छ महिनादेखि काठमाडौंमा मेलम्चीको पानी आएको छैन ।

 

अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्राेबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ समझदारीअनुसार अनुसार कुनै विशेष परिस्थितिको सिर्जना नभएमा बढीमा २८ दिनभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गरी मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिनेछ  । त्यसैगरी, द्रुत कार्यपालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने प्रवक्ता पन्तले जानकारी दिनुभयो ।

 

२०८० साल असार ८ गते बर्षायामको जोखिमलाई दृष्टिगत गरी सुरुङमार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो ।सरकारी निकायको ढिलासुस्तीको कारण छ महिनासम्म पनि पानी वितरण नभएपछि काठमाडौंवासीहरु आन्दोलनमै उत्रिसकेका छन् ।सोमवार उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौं ल्याउन माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा चर्को विरोध प्रदर्शन गरेको थियो ।आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाए पनि पुसको पहिलो सातासम्म पनि पानी वितरण हुन सकेको छैन ।