२०८१ जेठ ६ , आइतवार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा गाजामा सहायता सहजीकरण बारे सोमबार महत्त्वपूर्ण निर्णय लिंदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा सहायता पहुँचको सहजीकरण गर्न आह्वान गर्ने मस्यौदा प्रस्तावमा सम्भवतः सोमबार महत्त्वपूर्ण निर्णय लिने बुझिएको छ । परिषद्ले सो विषयमा मतदानका लागि तयारी गरिरहेको कूटनीतिक स्रोतहरूले आइतबार उल्लेख गरेका छन् । यसको नतिजा परिषद्मा भिटो शक्ति भएको संयुक्त राज्य अमेरिकाको धराणा सहित इजरायलको प्रमुख सहयोगी र संयुक्त अरब इमिरेट्स बीचको अन्तिम वार्तामा निर्भर रहने बुझिएको छ।

\
मस्यौदा प्रस्तावले “गाजा पट्टीमा सुरक्षित र निर्वाध रूपमा मानवीय पहुँचलाई अनुमति दिन कटुताको तत्काल र दिगो अन्त्य” का लागि आह्वान गर्ने र सबै किसिमका बन्धकहरूको तत्काल र विना शर्त रिहाइको माग गर्ने रहेको बताइएको छ । सो मस्यौदालाई सुरक्षा परिषद्मा पारित गर्नका लागि कम्तिमा नौ मत चाहिन्छ । परिषद्का स्थायी सदस्यहरू, संयुक्त राज्य अमेरिका, फ्रान्स, चीन, बेलायत र रुसबाट कुनै पनि भिटो भने अपेक्षित हुने छैन।

संयुक्त राष्ट्रसंघका अधिकारीहरू र सहायता एजेन्सीहरूले गाजामा सामूहिक भोकमरी र रोगको महामारी हुन सक्ने र यसले विकराल मानवीय सङ्कट निम्त्याउन सक्ने बारे चिन्ता व्यक्त गरेका छन् ।यस क्षेत्रका २३ लाख मानिसहरू दुई महिनादेखि जारी द्वन्द्वबाट विस्थापित भएका छन् । यसै महिनाको शुरुमा अमेरिकाले गाजामा इजरायल र हमासबीच तत्काल युद्धविरामको माग गर्दै सुरक्षा परिषद्को मस्यौदा प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो ।

त्यसपछि संयुक्त राष्ट्रसंघ महासभाले गत हप्ता युद्धविरामको लागि आह्वान समेत गरेको र भारी बहुमतले समर्थन पनि गरेको थियो ।यद्पि संयुक्त राज्य अमेरिका र इजरायलले युद्धविरामको विरोध गरेका छन् । यस आह्वानले मुख्य रूपमा “हमासलाई फाइदा” पुग्ने तर्क गरेका छन् । यसको सट्टा अमेरिकाले नागरिकहरूको सुरक्षा गर्न र इजरायलमा अक्टोबर ७ मा हमासको आक्रमणको क्रममा हमासद्वारा बन्धक बनाइएकाहरूलाई तत्काल रिहाइ गर्नु पर्ने बताएका छन् ।  रासस/सिन्हुआ