२०८१ जेठ ५ , शनिवार

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज

distya

 

सुनाखरी न्युज / काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ। दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम रहेको छ ।समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। यस्तै, त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।

 

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन्। त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ ।

 

उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने छ । दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ। रासस