२०८१ बैशाख १७ , सोमवार

त्रिविको ४९ औं दीक्षान्त समारोह आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै

TU

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । दीक्षान्त समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई २७ वटा पुरस्कार वितरण गरिँदै छ ।

ती विद्यार्थीहरुको नामावली सार्वजनिक गर्दै त्रिविले त्यसमा कुनै दाबी विरोध भए मंसिर २९ गतेभित्र गरिसक्न भनेको छ ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदकबाट किशोर कुमार गौतम पुरस्कृत हुने भएका छन् । उनले व्यवस्थापन संकाय अन्तर्गत एमफिल तहमा ४ जीपीएसहित सर्वोत्कृष्ट अंक प्राप्त गरेको त्रिविले जनाएको छ ।

 

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो ।

त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन ।

 

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु भएकाले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित गरिएको बताए ।

२०१६ सालदेखि गत वर्ष ४८ औं दीक्षान्त समारोहसम्म कुलपति पदक वितरण हुँदै आएको थियो । कुलपति पदकमा १० आनासम्म सुन जडित हुन्छ ।

 

यसअघि गत असार ९ गते बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदको बैठकले कुलपति पदक वितरण नगर्न प्राज्ञिक परिषदलाई सिफारिस गरेको थियो । सो सिफारिस अनुसार त्रिवि प्राज्ञिक परिषदले यसै वर्षदेखि लागू हुने गरी कुलपति पदक वितरण स्थगित गर्ने निर्णय गरेको थियो ।

 

यसैगरी इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदकबाट एमबीए तहमा सर्वोत्कृष्ट अंक प्राप्त लक्ष्मी भट्टराई सम्मानित हुने त्रिविले सार्वजनिक गरेको नामावलीमा उल्लेख छ ।