२०८१ बैशाख २४ , सोमवार

कांग्रेसले सार्‍यो महासमिति बैठक, गठबन्धन दल भड्किने डर

Nepali Congress

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले पार्टीको महासमिति बैठक तेस्रोपटक सारेको छ । सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकेपछि निर्वाचनअघि महासमिति भेला गर्दा त्यहाँ हुने छलफल र निर्णयले गठबन्धन भड्किने र निर्वाचनलाई असर पुग्न सक्ने भन्दै कांग्रेसले महासमिति बैठक दुई महिना पर धकेलेको हो ।

सानेपास्थित मुख्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले महासमिति भेला आगामी फागुन ७ देखि १० गतेसम्म गोदावरीमा गर्ने निर्णय गरेको हो । यसअघि पुस १६ देखि १९ मा महासमिति भेला गर्ने तयारी थियो ।

सभापति शेरबहादुर देउवाले दुई साताअघि पदाधिकारी बैठकमै पुसको ‘ठण्डी’मा महासमिति बैठक गर्न नसकिने भन्दै सार्नुपर्ने प्रस्ताव गरेका थिए । तर त्यो बेला महामन्त्री गगन थापासहित पदाधिकारीले विगतमा महाधिवेशन नै पुसमा भएको भन्दै त्यही कारणले मात्रै बैठक सार्न नमिल्ने अडान लिएका थिए । तर राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तय भएपछि नेताहरूले गठबन्धन दललाई काबुमा राख्न सर्वसम्मत महासमिति भेला सार्ने निर्णय गरेका छन् ।