२०८१ बैशाख २१ , शुक्रवार

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री डा महत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताउनुभयो ।

“सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन”, डा महतले भन्नुभयो, “मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा अधिकांशमा छ ।” अहिले मानिसमा बीमा गर्नुका फाइदाका बारेमा जानकारी दिँदै बीमा सचेतना जगाउनु आवश्यकता रहेको उहाँको भनाइ थियो ।

मन्त्री डा महतले भन्नुभयो, “जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ ।” जीवनमा हरेकलाई समस्या आई पर्नसक्ने भएकाले अहिले केही योगदान दिएर भोलि आइ पर्नसक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने उहाँले बताउनुभयो ।

“जसले बीमा गरिसकेको छ, आपत पर्दा बीमा कम्पनीहरूले बीमाबापतको रकम दिन आनाकानी गर्नु हँुदैन । यसले गर्दा सम्भावित बिमितमा सकारात्मक सन्देश जान्छ र उनीहरू पनि बीमा गर्न तयार हुन्छन्”, मन्त्री डा महतले भन्नुभयो । बीमामा जोडिएका सबै र नियमक निकाय तथा प्राधिकरणले बीमा विस्तारमा भएका अवरोध हटाउँदै काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस सन्दर्भमा देखिएका विद्यमान समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने मन्त्री डा महतको भनाइ थियो । उहाँले बीमा कम्पनीले व्यवसायिकतालाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताउनुभयो ।

“बीमा कम्पनीले रकम लिने बेला विज्ञापन गर्ने, स्रोत जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला र बहाना झिक्ने गरेको सुन्निछ । यस्तो अस्थामा बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण हुन्छ । बीमा कम्पनी र बिमित व्यक्तिको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ”, मन्त्री डा महतले भन्नुभयो, “बीमा सर्भेयरले कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यसरी काम गर्न सकियो भने बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका अर्थपूर्ण मानिन्छ ।”  रासस