२०८३ श्रावण २९ , शुक्रवार

प्रचण्ड शाक्य: अहिले हस्तकला व्यवसायको अवस्था कस्तो छ ?

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो समय हस्तकला व्यवसायमा केही सुधार देखिएको छ । नेपाल राष्ट बैंकको तथ्यांकअनुसार हस्तकला निर्यात १३ प्रतिशतले बढेको छ । युरोपतिरको मार्केट भने २० प्रतिशतले घटेको छ । उत्तरी नाका खुला भएका कारण धातु मूर्तिकला र परम्परागत विधाको निर्यात बढेको हो । यही अवस्था रहेमा क्रमिकरुपमा निर्यात बढ्न सक्ने देखिन्छ ।
हस्तकला महासंघले स्वर्ण महोत्सवको अवसरमा हस्तकला प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरेको थियो । उपलव्धी कस्तो रहेको छ ?

स्वर्ण महोत्सवको कार्यक्रम अझै पनि जारी छ । जस्तै स्वर्ण स्तम्भ बनाउने, स्वर्ण सिक्काको विषय मन्त्रिपरिषदबाटै पारित गर्नुपर्ने भएकोले त्यो अहिले बाँकी नै छ । त्यसवाहेक सरकार, प्रदेश सरकार तथा सांसदज्यूहरुबाट अन्य सहयोग र सपोर्टको क्रम भने बढेको छ । उहाँहरुले निकै चासोका साथ सोध खोज गर्नुहुन्छ । सल्लाह सुझाव लिने दिने क्रम बढेको छ । हस्तकला क्षेत्रले निर्यातका साथै १० लाखलाई रोजगारी दिएको कुराले सरकार तथा संसदज्यूहरुमा यसमा चासो बढेको हो ।महासंघले राज्यले नै स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने र विभिन्न उपहार मायाको चिनो दिँदा हस्तकला नै दिनुपर्ने माग गर्दै आएको छ, कार्यान्वयनको अवस्था के छ ?

कतिपय प्रदेश सरकार र स्थानीय तहले केही सुरुवात गरेका छन् । ललितपुर ्महानगरपालिकाले त हस्तकलाको कोसेली घर नै संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले कसैलाई उपहार वा मायाको चिनो दिनुपर्दा कोसेली घरबाटै खरिद गरेर दिनुपर्ने व्यवस्था गरेको छ । वागमति प्रदेशले पनि यसमा पहलकदमी लिएको छ ।
नेपाल सरकारका सन्दर्भमा भने कस्तकला व्यवसायीले सार्वजनिक खरिद ऐनको ज्ञान नभएका कारण केही समस्या देखिएको छ । खासगरी हस्तकला तथा घरेलु साना उद्योग उद्योगका उत्पादन खरिदमा मूल्य अभिबृद्धिकर(भ्याट) बिल आवश्यक पर्दैन, प्यान मात्रै भएपनि हुन्छ भन्ने हाम्रा व्यवसायी कालीगढहरुलाई ज्ञान नभएका कारण समस्या आएको हो ।तर यसमा महासंघले सहजीकरण गर्दै आएको छ ।महासंघले आन्तरिक बजारमा १२ अर्ब र निर्यात १२ अर्ब गरी कुल २४ अर्ब बराबरको हस्तकला कारोबार हुने गरेको बताउने गरेको छ ।जुन धेरै वर्षदेखि स्थिर देखिन्छ । आन्तरिक खपत किन बढ्न नसकेको होला ?

अहिले आन्तरिक खपत अहिले धेरै बढेको छ । पछिल्ला वर्षहरुमा दशैं तिहार धनतेरसको बेला नेपाली हस्तकला धेरै खपत हुने गरेको छ । खासगरी धातु मूर्ति वस्तु, पूजा सामाग्री र गरगहनाको बढी कारोबार हुने गरेको छ । त्यसैले आन्तरिक बजार खपतबारे फेरि अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हस्तकलाको कच्चा पदार्थको अवस्था के छ ?

कच्चा पदार्थ त्यति सहज छैन । समस्या नै छ । धेरैजसो कच्चा पदार्थ वाहिरबाटै ल्याउनुपर्ने भएकोले समस्या भएको छ । यसमा सरकार तथा भन्सार विभागले सहजीकरण गर्नुपर्ने देखिन्छ । यसका लागि महासंघले लविङ गर्दै आएको छ ।धातुकला र सुनचाँदीजन्य हस्तकलाको कच्चा पदार्थमा समस्या होला, काष्ठकला, प्रस्तरकलाको कच्चा पदार्थको अवस्था के छ ?

काठ, ढुंगा पनि सहज छैन । नेपालको बन जंगलमा भएका काठ त्यत्तिकै कुहिएर गइरहेको छ । व्यवसायीले मलेसियाबाट ल्याउनुपर्ने अवस्था छ । स्वदेशमै सहजरुपमा काठ उपलव्ध भएमा नेपाली पैसा नेपालमै रहने थियो भनेर हामीले नेपाल सरकार, प्रदेश सरकारसँग लविङ गर्दै आएका छौं । सुनचाँदीमा पनि सरकारले यसवर्षदेखि भन्सारदर बढाएका कारण लागत महँगो पर्न गएको छ । जसले गर्दा सुनचाँदीको अबैध कारोबार प्रोत्साहित भइरहेको देखिन्छ । सुनचाँदीको भन्सारदर घटाउने र दुइ प्रतिशत लक्जरियस शुःल्क पनि नलिने व्यवस्था गरेमा अवैध कारोबार निरुत्साहित हुनसक्छ । गत वर्ष सुनको भन्सारदर १० प्रतिशत थियो, अहिले बढाएर १५ प्रतिशत पु¥याएको छ ।
हस्तकला महासंघले हस्तकला नीतिको माग गरेको धेरै वर्ष भइसक्यो ? के हुँदैन ?

हामीले २०७५ सालमै हस्तकलाको मस्यौदा वुझाएको हो तर राजनीतिक अस्थिरका कारण हस्तकला नीतिको काम सुस्त देखिएको छ । हरेक वर्ष सरकार परिवर्तन हुने, मन्त्री सचिवहरु पनि परिवर्तन हुने अवस्थाका कारण यसमा समस्या देखिएको छ । तर हामीले नीतिका लागि लविङ गर्न भने छाडेका छैनौं । फेरिने हरेक सरकार, मन्त्री र सचिवज्यूहरुलाई नीतिकाबारेमा हामीले ध्यानाकर्षण गराउने गरेका छौं । तर बागमति प्रदेशबाट हस्तकला ग्राम ऐन भने अन्तिम चरणमा पुगेको छ । पुस महिनासम्म पारित हुने अपेक्षा गरेका छौैं
जनशक्तिको अवस्था के छ ?

दक्ष जनशक्ति अभाव नै छ । युवा विदेश पलायनको क्रम बढेकोले यस्तो भएको हो । त्यही भएर यही युवा आकर्षित गर्न युवालक्षित कार्यक्रम कार्यक्रम ल्याउनुपर्छ भनेर सरकारसँग हामीले माग गर्दै आएका छौं । हस्तकलामा पनि स्टार्टअप आउनुपर्छ, त्यसका लागि सरकारले प्रोत्साहित गर्नुपर्छ । अन्यथा नेपाली हस्तकलामा समस्या आउन सक्छ ।
नेपाली हस्तकलाको ट्रेडमार्क छ ?

धातु मूर्तिकलाको त अहिलेसम्म छैन । हामी नेपाली हस्तकला धातु मूर्तिकलाको कलेक्टिभ टे«डमार्क दर्ताको तयारीमा छौं । पश्मिनाको छु्ट्टै टे«डमार्क बनिसकेको छभने फेल्टको पनि टे«डमार्कको तयारी हुँदैछ । कला नगरी ललितपुरमा रहेका हस्तकलाहरुको पनि छुट्टै टे«डमार्क हुनुपर्छ भनेर हामीले ललितपुर महाननगरपालिका अन्तर्गतको कलानगरीलाई हामीले घच्घच्याउँदै आएका छौं ।
हस्तकलाको गुणस्तर परीक्षण ल्यावको पनि समस्या रहेको व्यवसायीको गुनासो छ, ल्यावका लागि चाहिँ महासंघले के गर्दैछ ?
हो, हस्तकला ल्यावको धेरै आवश्यकता छ । हामीसँग रहेका पुरानो मेसिन विग्रिएको छ । नयाँ मेसिनका लागि हामीले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत प्रस्ताव गरेका छौं । आफ्नै ल्याव नभएका कारण एउटै कम्पनीले भारतको दिल्लीमा ल्याव टेष्टमै ५० औं लाख खर्च गर्नुपरिहेको अवस्था छ । त्यहाँ भएकै जस्तो मेसिन हामीसँग भइदिए त्यो पैसा नेपालमै रहने थियो ।समस्या चाहिँ के छन् ?

मुख्य समस्या भनेको कच्चा पदार्थ, दक्ष जनशक्ति नै हो । आयात निर्यातका लागि पेमेन्ट गेटवे सिस्टम नहुँदा पनि समस्या आएको छ । निर्यात गरेको सामानको पैसा पाउन समस्या नभएपनि हामीले कच्चा पदार्थ आयात गर्नुपर्दा भुक्तानीमा समस्या हुने गरेको छ । अहिलेको अवस्थामा हामीले नेपालमै बसेर अलिबाबामार्फत व्यापार गर्नसक्ने व्यवस्था गर्नुपर्छ ।
बिहीबारदेखि काठमाडौंमा हुन गइरहेको हस्तकला व्यापारमेलाका बारेमा बताइदिनुस् न ?

यसपटक काठमाडौंको दरवारमार्गस्थित होटल परिसरमा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म मेला आयोजना हुँदैछ । मेला राष्टपतिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसपटकको मेलामा करिब एकसय ३० स्टल रहने छन् । मेला अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कुटनीतिक नियोगलगायत स्वदेश तथा विदेश उच्च पदस्थ अधिकारीहरुलाई आमन्त्रण गरिएको छ । चाइनबाट पनि हाम्रा वायर्सहरु मेला भिजिटका लागि आउँदै हुनुहुन्छ । मंसिर २८ गते हाम्रो स्थापना दिवस पनि हो, सोही दिवसको अवसर पारेर हामीले मेला आयोजना गरेका छौं ।

मेलाका मुख्य आकर्षणमा एउटै छानामुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, १८औं हस्तकला प्रतियोगिता, मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरुप वस्तु प्रदर्शन, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदा(आइसीएच)को उजागर, जेष्ठ वरिष्ठ कलाकारलाई सम्मान, कला प्रदर्शनी, अग्रणी निर्यातकर्तालाई सम्मान लगायत रहेका छन् ।