२०८१ बैशाख १५ , शनिवार

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ ।

मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको शतप्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुर्याउने योजनामा मन्त्रालय छ । “बिजुलीको पहुँचबाहिर रहेका शून्य दशमलव पाँच प्रतिशत घरको खोजी तथा पहिचान गरी जतिसक्दो चाँडो विद्युत् सेवा पुर्याउँछौँ”, उहाँले भन्नुभयो, “केन्द्रीय प्रसारण लाइन विस्तार गर्न नसकिने ठाउँमा सौर्य ऊर्जा जडान भइरहेको छ ।”

अहिलेसम्म बिजुली नै नपुगेका घरधुरी पहिचान गर्न नेपाल विद्युत् प्राधिकरण र स्थानीय तहसँग मन्त्रालयले समन्वय गरिरहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो । तनहुँ र नवलपुरका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी रहेको उहाँको भनाइ छ । “अन्यत्र पनि विद्युत् सेवाबाट बञ्चित गाउँ र परिवार हुन सक्छन्, त्यस्ता ठाउँको हामी आफैँले पनि खोजी र अध्ययन गर्दैछौँ”, इन्जिनियर श्रेष्ठले भन्नुभयो ।

प्रदेशभित्रका ९९ दशमलव ५० प्रतिशत घरमा विद्युत् सेवा पुगिसकेको र बाँकी घरधुरीमा यथाशक्य छिटो बिजुली पुर्याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको तयारी छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा सबै घरमा बिजुली पुर्याउने निर्णय गरेको थियो ।

बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यसै वर्ष पूरा हुने मन्त्रालयले जनाएको छ । सरकारको चालु आव २०८०÷८१ को नीति तथा कार्यक्रमले पनि उक्त लक्ष्यलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता हरिदत्त पौडेलले विद्युतीकरण हुन बाँकी नवलपुर र तनहुँका केही ठाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तारको काम भइरहेको बताउनुभयो ।

“राष्ट्रिय प्रसारण लाइन पु¥याउन नसिकने ठाउँमा लघुजलविद्युत् र सौर्य उर्जा प्रविधि जडानको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “छुटेका घरधुरीमा दुई महिनाभित्रैमा विद्युतीकरण गर्न सकियो भने आगामी फागुन ४ मा पर्ने प्रदेश स्थापना दिवसमा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने मन्त्रालयको तयारी छ ।”

सरकारी संयन्त्रबाट पहिचान हुन नसकेका अवस्थामा बिजुली नपुगेका घरधुरीलाई स्वघोषणा गरेर आउनसमेत मन्त्रालयले सूचित गरेको प्रवक्ता पौडेलले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको १३ वितरण केन्द्रमार्फत प्रदेशका ११ वटै जिल्लामा विद्युतीकरण गरिएको उहाँको भनाइ छ ।

लघजलविद्युत् पनि नभएको ठाउँमा घरेलु सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले अनुदानकोसमेत व्यवस्था गरेको प्रवक्ता पौडेलले बताउनुभयो । मन्त्रालयका अनुसार प्रदेशका पाँच लाख ७५ हजार एक सय ८७ घरधुरी विद्युत् सेवाको पहुँचमा छन् । राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।

राष्ट्रिय प्रसारण लाइनमा नजोडिएका मुस्ताङ, मनाङ, म्याग्दी, बागलुङ र गोरखाका आठ स्थानीय तहका एक हजार पाँच सय ९६ घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको मन्त्रालयले जनाएको छ । यस्तै संस्थागत सौर्य ऊर्जा जडान कार्यक्रमबाट विभिन्न जिल्लामा गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ । प्रदेशमा रहेका ९० लघुजलविद्युत् आयोजनाबाट तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन भइरहेको छ । यसबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन् ।  रासस