२०८१ जेठ १ , मंगलबार

सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहनुभएका निरोज तिमिल्सिनाले बताउनुभयो ।

“अध्ययनका क्रममा पछिल्लो १० वर्षमा ८६ प्रतिशत पहिरो अव्यवस्थितरूपमा खनिएका सडकका कारण गएको पाइएको छ”, उहाँले भन्नुभयो, “जमिनको अध्ययन गरी बाढी, पहिरो, भूक्षयलगायत प्रकोप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरिएको छ ।” विषम भौगोलिक अवस्था, जटिल भौगर्भिक बनोट, अति भिरालोपनका साथसाथै यत्रतत्र खनिएका बाटाघाटा तथा अव्यवस्थितरूपमा बढ्दै गएको बस्ती विकासका कारण जोखिम बढ्दै गएको छ ।

विपद्लाई विचार नगरी भविष्यमा गरिने विकासले ठूलो धनजनको क्षति हुने र लगानीको जोखिम पनि बढाउँछ । यसले विकास प्रक्रियामा अप्ठ्यारो पार्ने तिमिल्सिनाले बताउनुभयो । नगरपालिकाले बहुप्रकोपीय जोखिमको न्यूनीकरण गर्दै सुरक्षित र नियोजित भू–उपयोगमार्फत अधिकतम लाभ प्राप्त गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

वालिङ नगरपालिकामा विभिन्न प्रकोपबाट भएका क्षतिको अध्ययन विश्लेषण गरी प्रकोपको प्राथमिकीकरण गर्ने, प्रकोप जोखिम सम्भाव्यताको आकलन गर्ने र जोखिमको स्तरअनुसार प्रकोप जोखिमयुक्त क्षेत्र पहिचान तथा नक्साङ्कन गर्ने उद्देश्यले जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिएको तिमिल्सिनाले बताउनुभयो ।

नगरपालिकाको एकीकृत र समावेशी जोखिम संवेदनशिल भू–उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको अध्ययन गरी कार्यपालिका बैठकबाट स्वीकृत गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । वातावरणीय अध्ययनबिनाका योजना अपूरा हुने भएकाले आगामी दिनमा योजना बनाउँदा यसैलाई आधार मानेर अगाडि बढ्ने उहाँ बताउनुहुन्छ ।

“विज्ञहरूको टोलीले अध्ययन गरी नगरपालिकालाई हस्तान्तरण गरेको प्रतिवेदन कार्यान्वयन गर्छौँ”, उहाँले भन्नुभयो, “यसबाट विकास निर्माणका काम गर्दा हुने वातावरणीय र प्रकोपजन्य असरलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ ।” भौगर्भिक अध्ययनबिना गरिएका योजनाले बाढी पहिरो जाँदा जनधनको क्षति हुने गरेकाले नगरले आगामी दिनमा योजना बनाउँदा यसको विशेष ख्याल गरिने नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो ।  रासस