२०८१ जेठ ७ , सोमवार

संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

Padma-Prasad-Pande-900

सुनाखरी न्युज/ काठमाडौं ।

सभामुख देवराज घिमिरेले संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डेलाई  नियुक्त गरेका छन् । संघीय संसदका प्रवक्ता टेकराज गिरीले  सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको जानकारी दिए ।

 

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

 

राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेको तर सम्पर्क नभएको पनि उनले सचिवालयले जनाएको छ ।