२०८१ बैशाख १५ , शनिवार

घार्मीको ओमकारेश्वरमा बालाचर्तुदशी पर्व मनाईयो

Capture

शिशिर उजाड।

पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाईएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो ।

रुद्री पुजा सकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानै भक्तजनको भिड लागेको वताईएको छ ।स्थानिय राम्चे निवासी हिमलाल पौडेलको घरवाट विधिपुर्वक पुजाआजा गरी निकालिएको फुलको डोली भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पुर्याईएको थियो । विहानैवाट शुरु भएको सद्विज छर्ने कार्य साँझ अवेरसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले वताउनुभयो ।

 

त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुञ्चौर लगायतका क्षेत्रवाट भक्तजन आउने गरेको स्थानिय नमराज पौडेलले जानकारी दिनुभयो । चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । विश्व हिन्दु महासंघ पोखरा १९ र भुमे मैदान भजन समुहले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए ।

मनकामना आमा समुहले भक्तजनको लागी पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गरिएको र विहान वेलुका नियमित पुजाआजा गरिएको समितिका कोषध्यक्ष तेजेन्द्र पौडेलले वताउनुभयो ।स्थानिय डाडाँ निवासी शिवप्रसाद पौडेलले यस क्षेत्र हिन्दुहरुको पवित्र भुमि भएको वताउँदै, यसको वृहत्तर विकासका लागी क्षेत्र विकास समिति मार्फत सवैलाई समेट्न सुझाव दिनुभयो ।सहभागीले घार्मीको धार्मिक पर्यटन विकासका लागी ३ वटै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिए ।

पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापना देखिनै त्यहाँ बाला चर्तुदबी तथा शिवरात्री पर्व विशेष रुपमा मनाउने गरिएको छ ।