
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा लुम्बिनी प्रदेशस्तरीय सञ्चारकर्मीका लागि आयोजित दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशको गृहमन्त्रालयको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । लुम्बिनी प्रदेशको गृहमन्त्रालयका कानुन शाखा प्रमुख मञ्जु पोखरेलले प्रदेश कार्यालय सधैँ पत्रकारका पक्षमा सकारात्मक रहेको बताउनुभयो । लुम्बिनी प्रदेशमा प्रशस्त सम्भावना रहेको र ती कुरालाई सञ्चारकर्मीले उठाउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले लुम्बिनी प्रदेशका समाचार बन्नसक्ने विषयका बारेमा चर्चा गर्नुभएको थियोे । शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटनलगायत विषयका बारेमा उहाँले जानकारी गराउनुभयो । ओझेलमा परेका र सम्भावना रहेका विषयलाई प्राथमिकता दिएर समाचार लेख्न अध्यक्ष पोखरेलले आग्रह गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकार सधैँ सक्रिय भएर काम गर्नुपर्ने बताउनुभयो । सकारात्मक र निष्पक्ष भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।राससका महाप्रबन्धक सिद्धराज राईले राससमा प्रयोग हुने शब्द, आचारसंहितालगायत बारेमा जानकारी गराउनुभएको थियोे ।
राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले समाचार लेख्दा सत्यतथ्य र छिटोछरितोमा ध्यान दिन आग्रह गर्नुभयो । जनचासोका विषयलाई समाचार बनाउनुपर्नेमा उहाँले जोड दिनुुभयो । सो अवसरमा रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीले समेत आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट राससमा आबद्ध संवाददाता सहभागी थिए । रासस