२०८२ चैत्र १ , आइतवार

देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन माग गरेका छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ ।

पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले नागरिकलाई आर्थिकरूपमा बलियो बनाउन राज्यले सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले विकासको नाममा जनताबाट चन्दा/अनुदानलगायत नाममा जनताकै पैसा लुट्ने गरेको आरोप लगाउनुभयो ।आयोजक संस्थाका सस्थापक सभापति कृष्ण पहाडीले भ्रष्टाचार अन्त्यका लागि नागरिक आन्दोलन आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता संरक्षणका लागि सबै जनता एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सोही संस्थाका सभापति रामकृष्ण बरालले प्रशासन तथा कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको जिकिर गर्नुभयो ।प्राध्यापक लोकराज बरालले सरकारको नेतृत्व गर्ने दल संविधानप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । देशमा भइरहेको अराजकता अन्त्यका लागि नागरिक समाजका अभियान्ताले सडकबाट दबाब सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  रासस