२०८१ जेठ ४ , शुक्रवार

स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट नलाग्ने, विदेशीमा के छ ब्यवस्था ?

potato-and-onion

सुनाखरी न्युज/ काठमाडौं ।

आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए । नेपालमा भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ ।

विभागले  एक विज्ञप्ति जारी गर्दै आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट)  लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको भन्दै विभागले आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको छ ।

 

‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विभागले विज्ञप्तिमा भनेको छ ।