२०८१ बैशाख १७ , सोमवार

राज्यव्यवस्था समितिमा एनसेल खरिद बिक्रीसम्बन्धी विषय प्रवेश

ncell

सुनाखरी न्युज/ काठमाडौं ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा प्रवेश भएको छ । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले यसबारे अध्ययन गरिरहेको भए पनि राज्यव्यवस्था तथा सुशासन समितिमा उक्त विषय प्रवेश भएको हो ।

समितिको आजको बैठकमा सदस्यले एनसेल बिक्रीका सम्बन्धमा अहिलेसम्मको यथार्थताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जानकारी लिनुपर्ने बताउनुभयो । नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा सो कम्पनीको शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको आशङ्का गर्दै उहाँहरुले यससम्बन्धमा सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ र भरथेग भएको आशङ्का गर्नुभयो । उहाँले सरकारद्वारा गठित समितिले गरेको छानबिनलाई समितिले पनि नजिकबाट नियाल्नुपर्ने बताउनुभयो ।

सांसद प्रकाश अधिकारीले नेपालमा लगानी गर्ने विदेशी लगानीको कम्पनीले नेपालको ऐन कानुन पालना गर्नुपर्नेमा जोड दिँदै एनसेलको खरिदबिक्री सम्बन्धमा समितिले सरकारसँग जवाफ माग गर्नुपर्ने बताउनुभयो । सांसद उपेन्द्र यादवले मुलुकमा कुशासन बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै सुशासन कायम गर्न समितिले सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने बताउनुभयो ।

सांसद सरिता प्रसाईले एनसेलको शेयर किनबेचका सम्बन्धमा नियामक निकायले थाहा पाइन भन्न नपाउने उल्लेख गर्दै नेपाल दूरसञ्चार प्राधिकरसँग जवाफ माग गर्नुपर्ने बताउनुभयो । सांसद राजेन्द्र पाण्डेले उक्त कम्पनीको शेयर बिक्री नभई बिक्रीको ‘नाटक’ गरिएको तथा सरकारको स्वामित्वमा आउने लागेका बेला चलखेल गरिएको दाबी गर्नुभयो ।

सांसद रघुजी पन्तले एनसेल खरिदबिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताउनुभयो । समितिका सभापति रामहरि खतिवडाले संसद्कै लेखासमितिले यससम्बन्धमा अनुसन्धान थालेको अवस्थामा अर्को समितिले प्रक्रिया अगाडि बढाउँदा विषय गिजोलिन सक्ने बताउनुभयो । रासस