२०८१ बैशाख १६ , आइतवार

इजरायली आक्रमण नियन्त्रण प्रयास छलफलको मुख्य विषय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताउनुभएको छ ।रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा तेहरानबाट रुसको राजधानी मस्को जानु अघि पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति रायसीले उक्त टिप्पणी गर्नुभएको राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इरानी राष्ट्रपतिले आफ्नो भ्रमणको उद्देश्य गाजाको घेराबन्दी हटाउने, तटीय क्षेत्रका मानिसहरूलाई मानवीय सहायता पु¥याउने तथा प्यालेस्टाइनीहरूको ‘अपरिहार्य’ अधिकारको रक्षा गर्नेलगायतका मुख्य विषयमा विचार आदानप्रदान गर्नु रहेको बताउनुभएको छ । यी मुद्दाहरूमा अन्य देशहरूसँग पनि आवश्यक छलफल हुने उहाँले उल्लेख गर्नुभयो ।

रुससँगको राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक तथा वैज्ञानिक क्षेत्रमा सम्बन्ध विस्तार गरी सहकार्यका विषयमा छलफल गर्ने पनि भ्रमणको एजेण्डामा समेटिएको राईसीले बताउनुभएको छ । इरानी राष्ट्रपतिले क्षेत्रीय र अन्तरक्षेत्रीय मुद्दामा शान्ति, स्थायित्व तथा एकपक्षीयताका विरुद्ध लड्न दुवै देशले समान धारणा राखेको पनि उल्लेख गर्नुभएको छ ।

युरेशियन इकोनोमिक युनियन, साङ्घाई सहयोग सङ्गठन र ब्रिक्सलगायतका संस्थाले इरान र रुसबीचको द्विपक्षीय सम्बन्धका साथै बहुपक्षीयतामा आधारित अन्य क्षेत्रीय तथा समान विचारधाराका देशहरूसँगको सम्बन्ध सुधार्ने आधार तय गरेको उहाँको भनाइ छ ।

बिहीबारदेखि प्यालेस्टाइनी इस्लामिक प्रतिरोध आन्दोलन (हमास) र इजरायलबीचको घातक द्वन्द्व तेस्रो महिनामा प्रवेश गरेको छ । उक्त द्वन्द्वबाट १७ हजार एक सय ७७ जना प्यालेस्टाइनी तथा इजरायली पक्षका एक हजार दुई सय जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये अधिकांशले द्वन्द्वको सुरुआती चरणमा मारिएका हुन् । रासस/सिन्ह्वा