२०८१ जेठ ६ , आइतवार

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा : अध्यक्ष ओली

KP-Sharma-Oli (1)

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रको सम्भावना खोज्न झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्पयात्रा सुरु गरेको बताउनुभएको छ ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको यात्रका क्रममा जिल्ला सदरमुकाम बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब एमालेले गाउँमै रोजगार सिर्जना गरेर बसाइँसराइलाई रोक्ने खाले कार्यक्रम ल्याउने बताउनुभयो ।उहाँले अहिले जस्तोसुकै विकट ठाउँमा पनि सडक सञ्जाल र इन्टरनेट पुगेको बताउनुभयो । पहाडी क्षेत्रका नागरिकलाई सुखी र समृद्धि बनाउनका लागि बसाइँसराइ रोकी रोजगार सिर्जना गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “हामी पश्चिम झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धि यात्रामा छौँ, यसबीचमा हामीहरुले धेरै सम्भावनाको अध्ययन गरेका छौँ, यहाँ नागरिकलाई कसरी विकाससँग जोड्ने र यहाँ कसरी समृद्धि ल्याउने भन्ने हामीहरुले योजना बनाउन थालेका छौँ ।”अध्यक्ष ओलीले देश र राष्ट्रियता बचाउन मिसन २०८४ सफल पार्नुपर्ने बताउनुभयो । मिसन सफल पार्न एमालेको एकल बहुमत आउन जरुरी रहेको उहाँको भनाइ थियो । रासस