२०८१ बैशाख २४ , सोमवार

सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्थाका रुपमा ग्लोबल आइएमई बैंकले रचेको इतिहास

Global

सुनाखरी न्युज/ काठमाडौं ।

ग्लोबल आइएमई बैंक, बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेर नयाँ इतिहास रच्न सफल भएको छ ।

बैंकले आर्थिक वर्ष २०७८-७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ ।आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा उक्त कम्पनीलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप कार्यक्रममा सम्मान पत्र प्रदान गरेका छन् ।
ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ ।

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरुवात गरेको उक्त कम्पनी आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आईरहेको कम्पनीले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

उक्त कम्पनी मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४२ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।