२०८१ बैशाख २३ , आइतवार

एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

New Note

सुनाखरी न्युज/ काठमाडौं ।
सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परालाई महोत्तरीको बर्दिबास–१४ का एक परिवारले अनुशरण गरेका छन् ।

आफ्ना दिवङ्गत पितामाताको स्मृतिमा यहाँका एक हमाल परिवारले रु एक करोडभन्दा बढी लागतको धर्मशाला बनाएर समुदायलाई हस्तान्तरण गरेका हुन् । बर्दिबास–१४ स्थित रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सञ्चालनमा आएको छ ।

स्थानीय समाजसेवी नीरबहादुर हमाल र उहाँकी दिवङ्गत पत्नी रत्न हमालको स्मृतिमा बर्दिबास–१४ श्री रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको हो । स्व हमाल दम्पतीका भाइ मीनबहादुर हमाल र अर्थबहादुर हमाल एवं छोरा डा कृष्णबहादुर हमाल, चिरञ्जीवी हमाल, ओमकार हमाल, ईश्वर हमाल, र दीपक हमाल तथा छोरी दुर्गा हमालसहितले संयुक्तरुपमा यो धर्मशाला निर्माण गर्नुभएको हो ।

विसं २०११ मा स्व नीरबहादुर हमालले दान गर्नुभएको ११ कट्ठा १५ धुर क्षेत्रफलको जग्गाभित्र निर्मित मन्दिर परिसरमै अहिले धर्मशाला निर्माण भएको हो । बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयको स्थापना र सञ्चालन एवं बर्दिबास–१४ मा बजार बसाउनुभएका स्व हमालले यी संस्था सञ्चालनका लागि १० बिघाभन्दा बढी जग्गा दान गर्नु भएको थियो । स्व पिता माताको स्मृतिमा धर्मशाला निर्माण गरी समुदायलाई हस्तान्तरण गरिदा समाज उत्प्रेरक स्व बुबा÷आमाको सही तरिकाले सम्झना गरिएको अनुभूति आफूहरूलाई भएको नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका चिरञ्जीवी बताउनुहुन्छ । धर्मशाला निर्माणमा रु एक करोड पाँच लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।

दुईतले यो पक्की धर्मशाला भवनको भुईं तलामा उत्तरतर्फ फराकिलो पटाङ्गिनीसहित खानेपानी धारा र शौचालय सुविधासहितका तीनवटा कोठा छन् । भुईंतलाकै मुख्य सडकतिर पर्ने दक्षिणपट्टी व्यापारिक प्रयोजनका तीन कोठा छन् । यसैगरी माथिल्लो तलामा दुई सय मानिस अटाउने क्षमताको सभा भवनसहित आन्तरिक शौचालय सुविधासहितको एक फराकिलो अतिथिकक्ष छ ।

धर्मशाला व्यवस्थापनमा व्यापारिक प्रयोजनले बनाइएका सटरको आम्दानी विवाह, व्रतबन्ध, धार्मिक र सांस्कृतिक समारोहका लागि उपलब्ध गराइँदा लिइने न्यूनतम शुल्कले सहज हुने विश्वास गरिएको छ । परिसरभित्रै विवाहमण्डप पनि निर्मित छ ।

बर्दिबास हटिया नजिकै निर्मित यो धर्मशालाले अब वैवाहिक, अन्य धार्मिक र सांस्कृतिक समारोहका पाहुनाको बसोबास व्यवस्थपनमा निकै सहज हुने बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत हमाल बताउनुहुन्छ । मधेसको प्राचीन मिथिलाक्षेत्रमा केही दशकअघिसम्म कीर्तिकै लागि विद्यालय, धर्मशाला, इनार, पोखरी निर्माण गर्ने र चौतारी बनाउने परम्परा थियो । मिथिलामा थुप्रै दानवीरले निर्माण गरेका यस्ता भवन अझै खडा छन् । पछिल्लो कालमा हराउँदै गएको यो उदात्त परम्परालाई स्व हमाल दम्पतीका सन्तानले अनुशरण गरेर निकै राम्रो काम गरेका अहिले बर्दिबासका पाका मैथिल बताउँछन् ।  रासस