२०८३ श्रावण २९ , शुक्रवार

नेकपा एमालेका अध्यक्ष ओली सहित संकल्प यात्राको टोली गण्डकी प्रदेश प्रवेश, प्रचारप्रसारका लागि प्रेस चौतारीको तयारी

Capture

शिशिर / पोखरा । नेकपा एमालेले संचालन गरेको समृद्धिको लागि संकल्प यात्रा–२०८० को टोली गण्डकी प्रदेश प्रवेश गरेको छ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टोलीलाई नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी सहित नेकपा एमाले गण्डकी प्रदेश र बागलुङ जिल्लाका नेता कार्यकर्ताले बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी आरम्भ भएको अभियान टोली आठौँ दिन भोलि कास्की आइपुग्नेछ र टोलीलाई पर्सी कास्कीबाट बिदाई गरिनेछ ।

मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग केन्द्रित यस विशेष अभियानलाई कास्कीमा सफल बनाउन प्रेस चौतारी कास्कीले तयारी गरेको छ । प्रेस चौतारी कास्कीका उपाध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कास्कीमा मंसिर २१ र २२ गते हुने संकल्प यात्राको प्रचारप्रसारको संयोजनको जिम्मा सचिव रञ्जन अधिकारीलाई दिएको छ । तयारी सम्बन्धमा प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईञ्चार्ज रुद्र श्रीष मगर, गण्डकी प्रदेश अध्यक्ष ईन्द्रप्रसाद पौडेल, उपाध्यक्ष बालकुमारी पौडेल ताराको उपस्थितिमा तयारी बैठक बसेको हो । बैठकले जिम्मेवारी पनि तोकेको छ । पर्वतको कुश्मामा बुधबार हुने जनसभामा कास्कीबाट ईञ्चार्ज रुद्र श्रीष मगर, सचिव रञ्जन अधिकारीको टोली पुग्नेछ । नयाँपुलमा स्वागतका लागि ईञ्चार्ज र सचिवसँगै उपाध्यक्ष मोतिसागर अधिकारी, कार्यसमिति सदस्य अनुप पौडेल पुग्नेछ । नौडाँडाको रिपोर्टिङ पनि यही टीमले गर्नेछ । हेम्जामा हुने कार्यक्रममा उपाध्यक्ष बालकुमारी पौडेल तारा खटिनेछन् । बेलुकी पोखरामा हुने भेटघाटमा ईच्छुक पत्रकारहरुका लागि प्रेस चौतारीले आवश्यक समन्वय गर्नेछ ।

 

मंसिर २२ गते बिहान जिरो किमिबाट प्रस्थान हुँदा अमरसिंहचोक र तालचोकसम्म राजाराम पौडेल र गौरव त्रिपाठीले संयोजन गर्नेछन् । त्यसपछि लमजुङका लागि बिदाई गर्ने बेलासम्म कार्यसमिति सदस्यहरु ऋषिराम दाहाल र दीपक अधिकारीको जिम्मा रहनेछ । प्रदेश सदस्य गीता राना मगर र सुशान्त गाहा मगरले दुवै दिन फोटो भिडियोको व्यवस्थापन गर्नेछन् ।