२०८१ बैशाख १७ , सोमवार

‘श्रमिक बराबर पनि मूल्य भएन’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरुको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रातदिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।

टीकापुरकी महिला स्वास्थ्य स्वयम् सेविका रामप्यारी चौधरीले विगतमा स्वयम् सेविका हुन हौसिने महिला आजभोलि निराश हुन थालेका बताउनुभयो । उहाँले सरकारले स्वयम् सेविकालाई काम थप्दै गएको तर सुविधा नथपेको गुनासो गर्नुभयो ।

“सामान्य श्रमिकको ज्याला पनि दैनिक रू छ सय छ । हामी दिनभरि काम गरेपछि रू चार सय मात्र पाउँछौँ । आजभोलि नयाँ स्वयम् सेविका बन्न महिलाको रुचि छैन । कैलालीका पढेलेखेका स्वयम् सेविका साथी विदेश जान थालेका छन्”, चौधरीले भन्नुभयो, “कैलालीका मात्रै दर्जन बढी स्वयम् सेविका विदेश गएका छन् । त्यही ठाउँमा नयाँ स्वयमसेविका आउँछन् । उनीहरुले राम्रो काम नगरे, अर्को आउँछ यस्तै चलिरहेको छ ।”

सरकारले सामान्य सुविधा दिए पनि स्वयम् सेवामा आकर्षण बढ्ने स्वयम् सेविका बताउँछन् । “हामीले गाउँघरमा क्लिनिक, खोप कार्यक्रम, आमा समूहका बैठक तथा वडा र नगरपालिकाका सबै अभियानमा सहयोग गर्नुपर्छ”, स्वयम् सेविका मुक्तिधरादेवी शर्माले भन्नुभयो, “हामीलाई खाजा र पानीसम्मको सुविधा छैन । घरबाट खाएर सेवा दिइरहेका छौँ ।”

स्वयम सेविका रुक्मिणि शर्माले थुप्रै चुनौती पार गर्दै स्वयम् सेविका बनेको भन्दै स्वास्थ्यका कुरा महिलाले महिलासँग बढी गर्ने गरेका बताउनुभयो । आफ्नो काममा सन्दर्भमा परिवारका पुरुषले नबुझि दिँदा समस्या हुने गरेको उहाँको भनाइ थियो ।“हामीले महिला र किशोरीलाई स्वास्थ्य र पोषणबारे जनचेतना जगाउने काम गर्छौँ”, रुक्मिणिले भन्नुभयो, “हामीले सिकाएको कुरा घरका पुरुषले नबुझिदिँदा महिलाका स्वास्थ्यमा समस्या अझैँ देखिन्छन् । शरीर महिलाको छ, बच्चा जन्माउने अधिकार पुरुषको छ । यस्ता समस्या अझैँ छन् ।”

स्वयम् सेविका टीकापुरका संयोजक सुला रावल खत्रीले स्वयम् सेविकाले श्रमअनुसारको पारिश्रमिक नपाउँदा घरमा पनि हिंसा भोगिरहेका बताउनुभयो । “पकाउँदा पकाउँदै, बारीमा काम गरिरहेका बेला पनि सामाजिक अभियानमा हिँड्नुपर्छ । फोन आयो, कोही समस्यामा प¥यो भने सहयोग गर्न जानुप¥यो । यसो गर्दा घर व्यवस्थापन लथालिङ्ग हुन्छ”, उहाँले भन्नुभयो, “बेलुका रित्तो हात, भोको पेट घर फर्कदा परिवारबाट कुरा सुन्नुपर्छ ।” खत्रीले आफूहरुको कामको सरकार, समाज र परिवारले पनि सही मूल्याकङ्न नगरेको गुनासो गर्नुभयो ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुरमा कार्यरत सम्पूर्ण स्वम् सेविकाका सेवा सुविधा वृद्धि गर्ने बताउनुभयो । “हामीले सेवा अवधिपछि अवकाश भएर घर जाँदा स्वयम् सेविकालाई बिदाईका बेला रू ८० हजार दिने गरेका छौँ । यो सुविधा पनि वृद्धि तयारीमा छौँ”, उहाँले भन्नसभयो, “अन्य सुविधा दिन पनि सकारात्मक छौँ । छलफल गरेर उहाँहरुका माग सम्बोधन गर्ने प्रयासमा छौँ ।” रासस