२०८३ श्रावण २९ , शुक्रवार

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मनाङमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो ।गतवर्ष भने हिमपात अनुकूल समयमा पनि हिमपात भएन । यसवर्ष समयमा नै हिमपात हुँदा जनजीवन कष्टकर बने पनि किसान भने बाली सप्रने भन्दै खुसी भएका छन् ।

ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि हिमपात हुँदा पनि गाउँमै बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारका अरु सदस्य काठमाडाैँ गए । हामी भने पशुचौपायको हेरचाहका लागि यही बसेका छौँ ।” हिमपात भएपछि चिसो बढेको उहाँले बताउनुभयो ।

ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यसवर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ ।” हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घर बाहिर निस्कनै मुस्किल भएको पनि उहाँले बताउनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताउनुभयो । उहाँले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गर्नुभयो । सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा पनि हिमपात जारी छ ।रासस