२०८१ बैशाख २५ , मंगलबार

अर्को महिनादेखि सहज रुपमा चिनी पाइने सरकारको दाबी 

Sugar

 

सुनाखरी न्युज/ काठमाडौं ।

बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन । सरकारले यो महिना पछि बजारमा चिनी सजिलै पाइने जनाएको छ । नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार भारतबाट चिनी ल्याउँदा महँगो पर्ने भएकाले अहिलेलाई आयात रोकिएको छ । आयात नहुँदा र नेपालमै उत्पादन पर्याप्त नहुँदा अहिले चिनीको अभाव देखिएको उहाँको भनाइ छ ।

 

नेपालमा वार्षिक ३ लाख मेट्रिक टन चिनी खपत हुन्छ । जसमध्ये करिब एक लाख ५० हजार मेट्रिक टन चिनीको माग स्वदेशी उत्पादनले धान्छ भने बाँकी आयात गर्नु पर्ने अवस्था छ । तर, यस वर्ष भारतले चिनीमा बढाएको करका कारण बजारमा पर्यप्त मात्रामा चिनी आयात हुन सकेन भने स्वदेशी उद्योगीहरुले पनि बजारमा चिनीको कृत्रिम अभाव सृजना गरे । जसका कारण गत असारमा ९५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीको मूल्य ठूला चाडपर्वको मुखैमा १६० रुपैयाँसम्म पुर्‍याइयो । तर, अब कतिपय स्वदेशी चिनी मिलले उत्पादन शुरु गरिसकेकाले र केहीले यो महिनाको अन्तिमदेखि उत्पादन थाल्ने भएकाले अर्को महिनादेखि सहज रुपमा चिनी पाइने बताउनुभयो। केही महिनाअघिको कुरा हो ।

 

सरकारले चाडपर्वको माहोल सुरु भएपछि ५० हजार टन चिनी सरकार–सरकार (जीटूजी) मार्फत भारतबाट ल्याउने घोषणा गर्‍यो । त्यहीअनुसार उसले भारतलाई साउन ५ मा चिठी पनि पठायो । तर त्यसअघि नै भारतले चिनी निर्यातमा बन्देज लगाइसकेको थियो । उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो ।

 

बजारमा दशैँदेखि नै चिनीको अभाव छ । यसबीचमा सरकारले जीटुजी अर्थात सरकार सरकारमार्फत चिनी आयात गर्ने भनिए पनि आयात हुन सकेको छैन । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो । तर दुवै कम्पनीले महँगो परेको भन्दै चिनी आयात गरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्था मिलाउन र मूल्य घटाउनका लागि छलफल भइरहेको जनाएको छ ।