२०८२ फाल्गुन ३० , शनिवार

‘कमाएर खाने जग्गाको अधिकार नहुँदा मन दुख्छ’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बेलका नगरपालिका–१ आम्बासीकी बालकुमारी प्रधानले कमाउँदै आएको जग्गाको जग्गा धनी पूर्जा पाउने आश गरेको धेरै समय बित्यो । राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन उदयपुरबाट चितवन आउनुभएकी उहाँ पूर्जा पाउने आशमा मञ्चका विभिन्न आन्दोलनमा सहभागी हुँदै आउनुभएको छ ।

जन्मघरदेखि कर्मघरसम्म भूमिहीन भएका कारण आन्दोलनमा उत्रिनु परेको प्रधानले बताउनुभयो । राज्यले आफुहरुलाई जग्गा धनी पूर्जा दिन्छ भन्ने आश मर्न थालेकोे उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पाउने आश भए त ढुक्कसँग घरमा नै बसिन्थ्यो । राजनीतिक खिचातानीका कारण सम्भावना निकै कम भएकाले विभिन्न भूमि अधिकारको कार्यक्रममा हिँड्नु परेको छ । पूर्जा पाउने पूरै आश भने मारेको छैन ।”

आफूसँगै गाउँमा पाँच सय घर सुकुम्बासी रहेको प्रधानले जानकारी दिनुभयो । आँफूले चार कठ्ठा जग्गा कमाएर खाँदै आए भन्दै त्यसको अधिकार आँफूसँग नहुँदा मन दुखेर खिन्न लाग्ने गरेको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो “आँफु त जन्मेदेखि मर्ने बेलासम्म भूमिहीन भइयो आउने पुस्तामा यस्तो नहोस् भन्ने लाग्छ ।”

यस्तै पीडा छ बर्दियाको बडैयाताल गाउँपालिका–६ मैनापोखरका केशबहादुर विकको । तीन पुस्तादेखि मैनापोखर बस्दै आउनुभएका उहाँ अहिले पनि भूमिहीन हुनुहुन्छ । बाजेले कमाएको जमिन भाग लगाउँदै गर्दा आफ्नो भागमा १५ धुर घडेरी मात्रै परेको बताउने विकले अहिलेसम्म पनि आफ्नो नाममा पूर्जा नहुँदा निकै पीडा हुने गरेको दुखेसो पोख्नुभयो ।

विकले भन्नुभयो “आयोगले नापजाँच गर्छ तर पछि वन र खोलाको क्षेत्र भनेर हामीलाई दिँदैन ।” आफ्नो १३ जनाको परिवार यही जग्गाबाट उब्जेको अन्नबाट जीविकोपार्जन गरिरहेको बताउँदै उहाँले बडैयाताल–६ मा १४ घरधुरी आँफूजस्तै भूमिहीन परिवार रहेको जानकारी दिनुभयो ।वर्षौैदेखि कमाएको जमिनको पूर्जा पाउनुपर्छ भन्ने माग उहाँको रहेको छ । भूमि अधिकार सम्बन्धी कुनै कार्यक्रम हुँदा पूर्जा पाउने झिनो आशमा उहाँ पुग्दै आउनुभएको छ ।

आँफु बस्दै आएको जमिन बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रका परेपछि विसं २०४२ मा बर्दियाकै गुलरिया नगरपालिका–१ कमलपुरमा पुग्नुभएका मनबहादुर सुनार आँफूले कमाउँदै आएको जग्गा अर्काले मेरो हो भनेर दाबी गरेपछि थप पीडामा हुनुहुन्छ ।उहाँसँगै आएका अन्यले जग्गा धनी प्रमाण पूर्जाको प्रक्रियामा रहदा आँफु भने अहिलेसम्म पनि अलमल परेको सुनारले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो जग्गा भनेर अधिकार जमाएका छन् । मैले कमाएको जग्गा अर्कैको नाममा छ भनेर समयसमयमा दुःख दिन आउँछन् । भूमिहीन त छदैछु त्यसमाथि पनि थप पीडा भइरहेको छ ।”

त्यसैगरी धनुसाका कण्ठा दमाइँ (इच्छाराम परियार) विसं २०४२ देखि मिथिला नगरपालिका–१० लालगढमा बस्दै आउनुभएको छ । आफ्नो श्रम बेचेर घरपरिवार चलाउँदै आउनुभएका उहाँ दुई कठ्ठा जग्गामा बसोबास गर्दै आउनुभएको छ । परिवार चलाउनसमेत मिहेनत गर्नुपर्ने भन्दै उहाँले पूर्जा पाउने आशमा आफ्नो जिन्दगी सकिएको बताउनुभयो ।राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले स्थानीय तहसँग समन्वय गरेर भूमिहीनका लागि जग्गा पूर्जा वितरण गर्ने काम भइरहेको बताउनुभयो । विभिन्न ऐन र कानुनका कारण भूमिहीन किसानलाई पूर्जा वितरण गर्न समस्या भएको भन्दै यसको दीर्घकालीन समाधान हुने गरी आयोगले काम गर्दै आएकोे उहाँले बताउनुभयो ।

निरौलाका अनुसार १३ लाख ५० हजारले फर्म भरेकामा १० लाखको मात्र दर्ता भएको छ । दुई लाख २१ हजारको किस्ताकाट भइसकेको भन्दै हालसम्म पाँच हजारले मात्र जग्गाधनी पूर्जा पाएका उहाँले जानकारी दिनुभयो । रासस