२०८१ बैशाख २१ , शुक्रवार

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै नेपाली र अङ्ग्रेजी माध्यमबाट सिकाइ, शिक्षकको पनि प्रयोगात्मक परीक्षा, विद्यालयका लागि अतिरिक्त क्रियाकलाप सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।उहाँले नगरपालिकाको पहलमा वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निर्वाह गर्नुभएको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।

ती सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको समेत व्यवस्था गरिनु अभिभावक र विद्यार्थीको आकर्षणको मुख्य पाटो रहेको नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार नगरभित्रका २५ वटै सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यामबाट अध्यापन भइरहेको छ ।कक्षा ५ सम्म अनिर्वाय अङ्ग्रेजी माध्याम र कक्षा ६ देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्याममा अध्यायन अध्यापन भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । नगरभित्र रहेका पाँच वटा माध्यामिक विद्यालयमध्ये तीन वटामा प्राविधिक विषयको पनि अध्यापन भइरहेको छ ।

वडा नं ८ स्थित शङ्करपुरमा रहेको नवजन जागरण माविमा पशु सेवा, बागमती नगरपालिका– ५ स्थित सोल्टीमा रहेको जनता माविमा कृषि र बागमती नगरपालिका–११ स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र माविमा सिभिल इन्जिनीयरिङको अध्यापन भइरहेको नगर शिक्षा विकास समितिका संयोजक राजकुमार विकले जानकारी दिनुभयो ।उहाँका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा गत शैक्षिक सत्रमा करिब सात हजार विद्यार्थी अध्यायनरत रहेकामा यसवर्ष करिब सात हजार छ सय विद्यार्थी सङ्ख्या पुगेको छ ।

नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयमा भएका भौतिक संरचनाभन्दा बढी विद्यार्थी हुने भएपछि भर्ना कार्यक्रम रोकेर सङ्ख्यात्मकभन्दा गुणस्तमक विकास गर्न लागिएको उहाँको भनाइ थियो ।केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो तर स्थानीय तहको निर्वाचन २०७४ पछि यहाँका जनप्रतिनिधिका साथै कर्माचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नियम बनाएर ती विद्यालयको गुणस्तरमा सुधार भएपछि यहाँका अभिभावक र विद्यार्थीको रोजाइँ अहिले सामुदायिक विद्यालय नै भएको नवजन जागरण माविका प्रधानाध्यापक बद्रीप्रसाद पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार निजी विद्यालयकै झैँ नेपाली र अङ्ग्रेजी दुवै माध्यामका साथै अतिरिक्तमा प्राविधिक धार सुरु भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बागमतीका सामुदायिक विद्यालयतर्फ बढेको हो ।सामुदायिक विद्यालयको भौतिक संरचनाको व्यवस्थापन, शिक्षाको गुणस्तर सुधारका साथै प्राविधिक तर्फपनि थोरै शुल्कमा अध्यायन गर्न पाउने भएपछि नगरभन्दा बाहिरका अभिभावक तथा विद्यार्थीको पनि आकर्षण बढेको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले बताउनुभयो । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन कर्मैयास्थित महेन्द्र माविका प्रधानाध्यापक नवकिरण श्रेष्ठले बताउनुभयो ।

“पहिला पहिला यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी पढ्नै मान्दैनथे तर अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि तछाडमछाड चल्छ, नगरपालिकाले मापदण्ड बनाएको छ, सोहीअनुसार विद्यार्थी भर्ना लिने गरेका छौँ”, उहाँले भन्नुभयो । विद्यार्थी भर्ना गरिदिनु प¥र्यो भनेर चर्काे दबाब आउँछ तर नगरपालिकाले निर्धारण गरेको मापदण्ड र विद्यालयको भौतिक संरचनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक विकासमा लाग्ने तयारी भएकाले भर्ना लिनसक्ने अवस्था नरहेको सामुदायिक विद्यालयको भनाइ थियो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारले थोरै लगानीमा गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावकसमेत उत्साहित भएका छन् । साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि नगरका सामुदायिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रमबाट विपन्न अभिभावकलाई थप राहत पुगेको महसुस गरिएको नगरप्रमुख भरतकुमार थापाले बताउनुभयो ।उहाँका अनुसार पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि विद्यार्थीले पढाइको समयभन्दा अन्य समय केही रकम कमाउन थालेपछि कापि कलम किन्न अभिभावकले पैसा खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।
स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि अथक प्रयास गरिरहेको नगर प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार विद्यलाय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध पिउने पानी, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाइ सेतो बोर्डको व्यवस्था, प्रविधिमैत्री र बाालमैत्री पठनपाठनको व्यवस्था गरिएको छ ।रासस