२०८१ बैशाख २१ , शुक्रवार

चितवनमा पनि पढ्दै पढाउँदै

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

पश्चिम चितवनको लगौटाकी सचिना नेपाली बिहानीमा क्याम्पस पढ्नुहुन्छ । नेपाली दिउँसोमा घर नजिकै रहेको आधारभूत विद्यालयमा स्वयंसेवक शिक्षिका हुनुहुन्छ । भरतपुर महानगरपालिकाले दरबन्दी कम भएका विद्यालयमा स्वयंसेवक शिक्षक राखेको छ । यसरी शिक्षक राख्दा पढ्दै गरेका युवालाई प्राथमिकता दिने गरिएको महानगरले जनाएको छ ।

स्वयंसेवक शिक्षक भएबापत पाउने रकमले उनीहरुको पढाई शुल्क र पकेट खर्च हुने स्वयंसेवक शिक्षक बताउँछन् । दुई वर्षदेखि स्वयंसेवक शिक्षक बन्नुभएकी नेपालीले यो अवसरले आफू पढ्दै र पढाउदै गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारको अवस्था र आफ्नो रुचिका कारण स्वयंसेवक शिक्षक बनेको हुँ । मेरो मूल विषय अङ्ग्रेजी हो ।”

कक्षा १२ उत्तीर्ण पछि अहिले उहाँ स्थानीय सहिद स्मारक कलेजमा स्नातक तहमा अध्ययन गर्दै हुनुहुन्छ । उहाँ जस्तै एक सय ५० युवा भरतपुर महानगरपालिकामा स्वयंसेवक शिक्षक रहेका छन् ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार तथा प्राथमिक, आधारभूत र माध्यमिक तहका शिक्षकका लागि क्रमशः रु १५, रु १७ र रु २० हजार तलब दिने गरिएको उहाँले जानकारी दिनुभयो ।

पौडेलले युवा र विद्यार्थीलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यले काम गर्दै र पढ्दै गर्न सहज होस् भनेर प्राथमिकता दिएका छौँ ।” पढाएर पाउने पारिश्रमिकले पढ्न पुग्ने उहाँको भनाइ छ । ग्रामिण क्षेत्र बाहेक अन्य क्षेत्रमा अधिकांश विद्यार्थी नै रहेको उहाँले जानकारी दिनुभयो ।

अङ्ग्रेजी, गणित र विज्ञान मूल विषय भएकालाई मात्र अवसर दिइएकाले विद्यालयको शैक्षिक रुपान्तरण गर्न कार्यक्रम निकै सहयोगी बनेको पौडेलले बताउनुभयो । अभिभावकको मागअनुसार शिक्षा दिन सहयोगी भएको उहाँको भनाइ थियो । प्राथमिक तहसम्म जुनसुकै विषय पढेकाले पनि पढाउन पाउने प्रावधानका कारण अङ्ग्रेजी, गणितजस्ता विषय पढाउन कठिन हुने भएकाले स्वयंसेवी शिक्षक थप उपयोगी भएको उहाँले बताउनुभयो ।

दरबन्दी नपुगेका सामुदायिक विद्यालयमा युवा स्वयंसेवक शिक्षक उपलब्ध गराइरहेको शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्या बढी भएका र दरबन्दी नपुगेका विद्यालयमा युवा स्वयंसेवक शिक्षक खटाइएको हो ।

युवा स्वयंसेवक शिक्षकका लागि वार्षिक झन्डै रु तीन करोड बजेट लाग्ने महानगरले जनाएको छ । महानगरले दुई वर्षअघि परीक्षणका रुपमा २९ जना स्वयंसेवक शिक्षक राखेको थियो ।

महानगरमा जति कक्षासम्म स्कुल छ, त्यति नै शिक्षक राख्ने अवधारणा बनाइएको छ । कक्षा ८ सम्म सञ्चालित स्कुलमा आठ शिक्षक हुन्छन् भने कक्षा १० सम्म सञ्चालित स्कुलमा १० जना शिक्षक अनिवार्य राख्ने योजनामा भरतपुर महानगर छ । यसअनुसार दरबन्दी नपुगेको ठाउँमा युवा स्वयंसेवक शिक्षक राख्न विद्यालयले अनुमति पाउने गर्दछ ।

भरतपुर महानगरभित्र एक सय १२ सामुदायिक, चार धार्मिक र ९२ संस्थागत विद्यालय छन् । ती विद्यालयमा ९० हजार हाराहारी विद्यार्थी अध्ययनरत रहेका छन् । सामुदायिक विद्यालयमा पढाउनका लागि एक हजार दुई सय ९० स्वीकृत दरबन्दी रहेको छ । यसका अतिरिक्त शिक्षण सहयोग अनुदान र निजी स्रोतका शिक्षकसमेत रहेका छन् ।
रासस