
सुनाखरी न्युज/ काठमाडौँ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको कठिन जीवनयापनलाई सहज बनाउन लागिपर्ने बताउनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित ¥यालीको समापनसहित पाटन दरबार अवलोकन कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिका समस्या समाधानका साथै उनीहरुको जीवनयापनलाई सहज बनाउन समयसापेक्ष नीति तथा कार्यक्रम अगाडि बढाइने बताउनुभयो ।
“हरेक वर्षको डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका रुपमा मनाउने गरिन्छ । हामीले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिका लागि केही न केही नयाँ काम गर्दै आइरहेका छौँ । यस वर्ष विश्व सम्पदा सूचीमा समावेश भएको पाटन दरबारको अवलोकन गराउने कार्यक्रम राखेका हौँ”, प्रमुख महर्जनले भन्नुभयो । उहाँले समस्या समाधानका लागि विचार गरेर नीति निर्माण गरी अगाडि बढाइने भन्दै अपाङ्गता भएकाहरुको कठिन जीवनयापनलाई सहज बनाइने बताउनुभयो ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि सीप विकास र जीवनयापनका लागि शिक्षाको व्यवस्थापन महानगरले गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्नका लागि सहजीकरण र समन्वयका माध्यमबाट तीनै तहको सरकारलाई आवश्यक नीति तथा कार्यक्रम बनाउन प्रेरित गर्ने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिको जिल्ला संयोजक भोजराज श्रेष्ठले नेपालमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको ३२ वर्ष भएको स्मरण गर्नुहुँदै सङ्घीय सरकारले भत्ताबाहेक अरु सुविधा नदिएको गुनासो व्यक्त गर्नुभयो । उहाँले अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका लागि अरु सेवासुविधा उपलब्ध गराउने गरी आवश्यक नीति तथा योजना बनाएर दैनिक जीवनयापनमा सहज बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्गताका सवालमा ललितपुर महानगर धेरै अगाडि बढेको भन्दै भए गरेका कामको प्रशंसासमेत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीतिनिर्माण तहदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको नेतृत्व स्थापित नभएसम्म विकासले सार्थकता नपाउने भन्दै यसका लागि सबैले हातेमालो गरेर लाग्नुपर्ने धारणा राख्नुभयो ।
महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर हरेक हिसाबले अपाङ्गता मैत्री महानगर हुन लागि रहेको बताउँदै अपाङ्गतामैत्री भौतिक संरचना बनाउने महानगरको नीति रहेको र अपाङ्गताका सवालमा केन्द्रित रहेर महानगरले सचेतना अभियान पनि चलाउने धारणा राख्नुभयो । उहाँले प्रकृतिबाट पछि पारिएका व्यक्तिहरुलाई आदार, सम्मान र माया गर्न सिक्नुपर्ने बताउनुभयो ।
विसं २०७८ को जनगणनाअनुसार नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या दुई दशमलव आठ प्रतिशत र ललितपुर महानगरपालिकामा एक दशमलव छ प्रतिशत रहेको ललितपुर महानगरकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी अधिकृत शोभ खरेलले जानकारी दिनुभयो ।
सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ३ लाई अपाङ्गता दिवस घोषणा गरेको थियो । अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवद्र्धन, समावेशीकरण, सशक्तीकरण र अपाङ्गताका विविध सवालमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ बाट मनाउन थालिएको हो । यस वर्ष ‘दिगो विकास लक्ष्यप्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै छ ।
रासस