२०८३ श्रावण १० , आइतवार

विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौँ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले शनिबार अन्य मुलुकका सञ्चारमाध्यम र संस्थाहरूसँग समाचार र कर्मचारी आदानप्रदान तथा एकीकृत मिडिया विकास जस्ता क्षेत्रमा सहयोगलाई गहिरो बनाउन सम्झौताहरूमा हस्ताक्षर गरेको छ ।

शनिबारदेखि शुरु भई यही मङ्सिर २२ गतेसम्म चल्ने पाँचौँ विश्व मिडिया शिखर सम्मेलन (डब्लुएमएस) का क्रममा दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको ग्वाङ्जाउमा हस्ताक्षर समारोहको आयोजना गरिएको थियो । समारोहमा सिन्ह्वाका अध्यक्ष फू हुआ र अर्जेन्टिना, फिलिपिन्स, रसिया, बुरुन्डी र बारबाडोसका मिडिया सङ्गठन र सरकारी विभागका प्रतिनिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा मिडिया आउटलेटका प्रतिनिधिहरूले सिन्ह्वा र अन्य चिनियाँ मिडियासँग आदानप्रदान, आपसी सिकाइ र व्यावहारिक सहयोगलाई सुदृढ बनाउनका लागि यो अवसरको लाभ उठाउन इच्छुक रहेको बताउनुभयो । यसबाट चीनका बारेमा गहिरो र व्यापक बुझाइ हासिल गर्न सहयोग पुग्ने, विभिन्नि मुलुकबीच जनता–जनताको सम्पर्क बढाउन र विश्व शान्ति तथा विकासलाई प्रवर्द्धन गर्न योगदान पुग्ने उहाँहरूको भनाइ थियो ।

अर्जेन्टिनाको तेलम समाचार समितिका अध्यक्ष मारिया बर्नार्डा लोरेन्टले सिन्ह्वासँग हस्ताक्षरित सम्झौताको उच्च महत्त्वको प्रशंसा गर्दै दुवै मुलुकबीचको मजबुत मिडिया सहकार्यले दुई देशका जनताबीच आपसी विश्वास र बन्धनलाई अभिवृद्धि गर्न उपयुक्त भएको बताउनुभयो ।फिलिपिन समाचार समितिका प्रमुख लुइस औसान मोरेन्टेले फिलिपिन समाचार एजेन्सी र सिन्ह्वाले सञ्चार र सहयोगलाई सुदृढ बनाउन थप कर्मचारी आदानप्रदान र भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

रसियाको रोसिस्काया गजेटाका उपमहानिर्देशक एन्ड्रे पर्सिनले सिन्ह्वासँगको सम्झौताले सहयोका लागि नयाँ सम्भावनाहरू खोलेको बताउनुभयो । रुसी पाठकहरूलाई चिनियाँ राजनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका समाचारहरूमा ठूलो चासो रहेको उहाँको भनाइ थियो ।बुरुन्डियन प्रेस पब्लिकेसनका महानिर्देशक लुइस कम्वेनुबुसाले शिखर सम्मेलनले विभिन्न मुलुकका मिडिया आउटलेटहरूलाई आदानप्रदान गर्ने अवसरहरू सिर्जना गर्ने भन्दै त्यस्ता आदानप्रदानले विश्वव्यापी मिडियाको विकासलाई अगाडि बढाउने अपेक्षा गरिएको बताउनुभयो ।

बारबाडोस सरकारी सूचना सेवाका प्रमुख सूचना अधिकृत टाइसन एन्थोनी हेनरीले सम्मेलनलाई दुई मुलुकले कर्मचारी तथा प्रविधि आदानप्रदानको प्रवर्द्धन गर्ने अवसरमा रूपमा उपयोग गर्ने आशा व्यक्त गर्नुभयो ।हालसम्म सिन्ह्वाले मिडिया आउटलेटहरू, सरकारी विभाग र उच्च शिक्षा संस्थाहरूसहित विश्वभरका तीन हजार छ सयभन्दा बढी संस्थाहरूसँग सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

‘विश्वव्यापी आत्मविश्वास बढाउँदै, मिडिया विकासको प्रवर्द्धन’ भन्ने विषयवस्तुमा पाँचौँ डब्लुएमएसले एक सय एक मुलुक र क्षेत्रका चार सय ५० भन्दा बढी सहभागीलाई भेला गरेको छ । सम्मेलनमा एक सय ९७ मूलधारका मिडिया आउटलेट, बुद्धिजीवी, सरकारी एजेन्सी, चीनमा कूटनीतिक नियोगहरूका साथै संयुक्त राष्ट्रसङ्घका एजेन्सी तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरू सहभागी छन् । रासस/सिन्ह्वा