२०८१ बैशाख २१ , शुक्रवार

त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सबाट खोसेर प्रतिष्पर्धाका आधारमा दिने प्राधिकरणको निर्णय

Plane Nac

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो ।

करिब ७ दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको थियो । अधिकारीहरुका अनुसार यो सेवाका लागि मात्र उपकरणमा साढे २ अर्बभन्दा बढी लगानी गरेको छ । वायुसेवा निगमको आम्दानीको मुख्य स्रोत ग्राउण्ड ह्याण्डलिङ मानिन्छ । सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।

 

वायुसेवा निगमले आर्थिक वर्ष २०७८-७९ मा गरेको १६ अर्ब ४ करोड कुल आम्दानीमध्ये ३ अर्ब १८ करोड ग्राउण्ड ह्याण्डलिङबाट आर्जन गरेको थियो । त्यसयताको तथ्यांक सार्वजनिक भएको छैन ।

 

अब नागरिक उड्डयन प्राधिकरण व्यवस्थापनको यो निर्णय कार्यान्वयन भएमा वायुसेवा निगम अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएर आउनुपर्छ, नभए ग्राउण्ड ह्याण्डलिङ उसले गुमाउने छ ।