२०८१ बैशाख १७ , सोमवार

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआइभी÷एड्सविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । बीस वर्षदेखि जिल्लामा एचआइभी÷एड्स सङ्क्रमण न्यूनीकरणविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको सक्रिय प्लस नामक संस्थाले बनेपास्थित आदर्श विद्या मन्दिरमा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सचेतना गराएको हो ।

कार्यक्रममा संस्थाका सचिव एवं एड्स सङ्क्रमित राजकुमार खत्री र सामाजिक अभियन्ता कमल बञ्जाराले एचआइभी÷एड्स सङ्क्रमणको कारण, लक्षण, उपचार तथा सङ्क्रमणबाट जोगिने उपायका बारेमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमार आयोजित ‘सङ्क्रमितहरूको मानवअधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले सङ्क्रमितको अवस्था र उपचारमा पहुँचबारे जानकारी गराउनुभएको थियो ।

संस्थाका अनुसार काभ्रेपलाञ्चोकमा एचआइभी सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । एचआइभी सङ्क्रमितमध्ये ४६ पुरुष र ४७ जना महिला छन् । एकजना छ वर्षीया बालिका छिन् । अठार वर्षदेखि ५७ वर्ष उमेर समूहका ९२ जना छन् । अन्य जिल्लाका केहीले काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालबाट सेवा लिइरहेका छन् । जिल्लाका केही सङ्क्रमितले अन्यत्र सेवा लिइरहेको जनाइएको छ । एचआइभी÷एड्सका कारण हालसम्म जिल्लाका १५ जनाले ज्यान गुमाएका छन् ।

एचआइभी सङ्क्रमणको मुख्य कारण वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिले असुरक्षित यौन सम्पर्क तथा लागुऔषधको प्रयोगबाट हुने गरेको पाइएको बञ्जाराले बताउनुभयो । धुलिखेल अस्पतालले एचआइभी सङ्क्रमितलाई ‘एआरटी’ नामक औषधिको सेवा तथा परामर्श र उपचार सेवा उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार सङ्क्रमित खुल्न चाहँदा समयमै उपचार हुने भएकाले अभियान्ताले परीक्षण र पहिचानमा जोड दिँदै आएका छन् ।

पनौतीका खत्रीले १७ वर्षदेखि एरआटी सेवा लिइरहनुभएको छ । उहाँले जिल्लामा एचआइभी सङ्क्रमितका लागि विभेद नभएको बताउनुभयो । उहाँका अनुसार तर सङ्क्रमित खुल्न नचाहँदा छिट्टै मृत्यु हुने गरेको छ । संस्थाले विद्यालयका बालबालिका तथा युवा बेरोजगार हुँदा र गलत सङ्गतका कारण सहजरूपमा लागुऔषधको प्रयोगमा पुग्न सक्ने भएकाले अभिभावक र सरोकारवाला निकायले ध्यान दिनुपर्ने अपिल गर्दै आएको छ ।

जिल्लामा २० जना बालबालिका सङ्क्रमित अभिभावकबाट जन्मिएका भए पनि सङ्क्रमित नभएको सक्रिय प्लसले जनाएको छ । संस्थाले दिवसका अवसर न्यानो कपडा वितरण तथा साँझ दीप प्रज्ज्वलनको कार्यक्रम गर्ने जनाएको छ ।रासस