२०८१ जेठ ४ , शुक्रवार

पुनःनिर्माण सच्याउन माग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बागमती सुधार आयोजनाबाट नदी व्यवस्थापन, नदी किनारामा गरिएको पुनःनिर्माण तथा सवलीकरणका क्रमका भएका संरचनागत त्रुटि सच्याउनुपर्नेमा विषयगत समितिका संयोजकहरूले जोड दिनुभएको छ ।त्रिपुरेश्वरबाट टेकु (कालोपुलसम्म) नदी किनारामा भएका सम्पदाको स्थलगत अवलोकन गर्दै काठमाडौँ महानगरपालिका विषयगत समितिका संयोजकहरूले आज सवलीकरणको क्रममा भएको विषयगत त्रुटि सच्याउनुपर्ने बताउनुभएको हो ।

विसं २०७२ को भूकम्पले जीर्ण तथा क्षति भएका सम्पदाको पुनःनिर्माण, पुनःनिर्माणपछि हस्तान्तरण भएका सम्पदाको अवस्था, पुनःनिर्माण हुन बाँकी सम्पदा, संरक्षणका लागि महानगरपालिकाले गर्नुपर्ने काम, धार्मिक, सामाजिक, सांस्कृतिक तथा कला प्रवर्द्धनात्मक कार्यक्रमको सम्भावनाका विषयमा छलफल भएको थियो ।अवलोकन गरिएका स्थानमध्ये लक्ष्मेश्वर सत्तल कला प्रशिक्षण सञ्चालनका लागि प्रस्ताव भएको स्थान हो । अवलोकनका विषयमा जानकारी दिँदै कामपाका प्रवक्ता नवीन मान्धरले भन्नुभयो, “हाम्रो भौगोलिक क्षेत्रभित्र भएका सम्पदाको संरक्षण हामीले गर्ने हो । यस कार्यक्रममा सरोकारवाला र साझेदारसँग सहकार्य गर्छौँ ।”

थापाथलीबाट टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजनाबाट जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ), मर्मतसम्भार तथा सौन्दर्य वृद्धि गर्ने काम भइरहेको छ । परियोजनाको पहिलो चरणमा पुनःनिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिएको माननधरले जानकारी दिनुभयो ।यसमध्ये लक्ष्मेश्वर मन्दिर र लक्ष्मेश्वर सत्तल पनि हुन् । यससँगै शिव मन्दिर, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सीघाट सत्तल र पञ्चनारीघाट सत्तल सवलीकरण गरेर हस्तान्तरण गरिएको हो । यसका लागि करिब रु ३७ करोड खर्च भएको थियो ।

दोस्रो र तेस्रो चरणमा टेकु पुलबाट टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनःनिर्माण, मर्मतसम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन् । दोस्रो चरणको काम गर्न करिब रु ४० करोड र तेस्रो चरणको काम गर्न करिब रु ३५ करोड लागत अनुमान गरिएको छ ।अवलोकन गर्न कामपाको सूचना प्रविधि समितिका संयोजक एवं प्रवक्ता नवीन मानन्धर, सम्पदा समितिका संयोजक आशामान सङ्गत, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, गुठी संस्थानका अधिकारी, महानगरपालिकाका विभागीय प्रमुख, सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीलगायतको सहभागिता थियो ।रासस